जलवायु परिवर्तन अभियान सञ्चालन गर्दै पिके र छोरा सोनामद्धारा सगरमाथाको सफल आरोहण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ९ । आफ्ना १६ बर्षे छोरा सोनाम सहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४३ बर्षिया पिके शेर्पाले जलवायु परिवर्तन अभियान अन्र्तगत आइतवार बिहान(२०२२ मे २३) ८ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गर्नु भएको छ । हिमालयन गाईड्स नेपाल ट्रेक्स एण्ड एक्स्पेडिशन प्रालिमार्फत बाबु पिके र छोरा सोनामले एकसाथ सगरमाथाको सफल आरोहण गरेको हिमालयन गाईड्सका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिनुभयो ।

पिके बिगत लामो समय देखि जलवायु परिवर्तन बिरुद्धको अभियानमा संगठित भएर लागि रहनु भएको छ । हिमाल सफाइ सहित जलवायु परिवर्तन बिरुद्धको जनचेतनामूलक कार्यक्रम र पैरवीमा संलग्न रहँदै आउनु भएका पिके र उहाँका छोरा सोनामका साथ शेर्पा छेबी भोटेले समेत सगरमाथाको सफल आरोहण गरेको समेत पौडेलले जानकारी दिनुभयो ।


कस्तो छ पिकेको अभियान ?
ताप्लेजुङ मैवाखोलाका पिके सानै उमेर देखि नै घर वरिपरि बगैंचा बिस्तार र सरसफाइमा खप्पिस हुनुहुन्थ्यो । अहिले हिमाली क्षेत्रको सरसफाइ तथा संरक्षण अभियानकर्मीको पहिचान बनाउनु भएको छ । बाल्यकालमा उब्जिएको प्रकृतिको त्यही मायाले आजसम्म हिमाली क्षेत्रको सरसफाइ र संरक्षणका लागि खट्ने शक्ति मिलिरहेको छ उहाँमा । पर्यटन व्यवसायी शेर्पा फोहोरको बोरा काँधमा हालेर हिमालका काखमा घुम्ने मात्र हैन, राष्ट्रिय÷अन्तर्राष्ट्रिय मञ्चमा गएर विश्व समुदायलाई झक्झकाउने पनि गर्नुहुन्छ । कक्षा ८ मा पढ्दापढ्दै २०५२ सालमा काठमाण्डौतर्फ हानिनु भएका पिके त्यसपछि पर्यटकको भारी बोकेर हिमालतिर जान थाल्नुभयो । शेर्पा विदेशी पर्यटकको भारी बोकेर सगरमाथा क्षेत्र,अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, लाङटाङ लगायतका विभिन्न स्थानमा पुग्नुभयो । भरियाबाट स्पेयर, भान्छाको काम गर्ने सहयोगी,भान्छे हुँदै सहायक पथप्रदर्शक र पछि पूर्ण पथप्रदर्शक बन्नु भएका शेर्पाले हिमाल आरोहणका तालिम पनि लिनुभयो । उहाँसंग विभिन्न आरोहणमा सम्पर्क अधिकृतसम्मको अनुभव छ । शेर्पालाई सानैमा निगालो रोपेर सुरु भएको संरक्षण चेत र घर वरिपरि चिटिक्क बनाएर पलाएको सरसफाइको झल्कोले झक्झकाइ रहन्छ । भरिया बनेर हिमालतिर जाँदादेखि नै भारीसँगै फोहोर संकलन गर्ने झोला समेत बोक्ने र दिनभर संकलन गरेको फोहोर राति बास बस्ने ठाउँमा व्यवस्थापन गर्ने अभियान समेत उहाँले चलाउनुभयो शेर्पाले एकदशक अघि सगरमाथामा सरसफाइ अभियान पनि चलाउनु भएको थियो ।

त्यसबेला सगरमाथा क्षेत्रबाट झण्डै ८ सय किलो फोहोर र पाँचवटा मृत मानव शरीर व्यवस्थापन गर्नु भयो उहाँले । हिमाल सफाइ कार्यक्रम गर्न केही साथीसँग मिलेर पिकेले सन् २०१० मा ‘फ्रेन्ड्स अफ सेभ द हिमालय’ नामक संस्था खोलेर त्यहिँ संस्थामार्फत जलवायु परिवर्तन बिरुद्धको अभियान सञ्चालन गर्दै आउनु भएको छ । उहाँको अभियानमा हिमालयन गाईड्स नेपाल ट्रेक्स एण्ड एक्स्पेडिशन प्रालिले साथ र सहयोग गर्दै आइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts