| |

हेलिकप्टरको दोब्बर भाडा लिएकोमा ताप्लेजुङबासी आक्रोसित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ६ ।
हेलिकप्टरले साविकभन्दा दोब्बर भाडा लिएकोभन्दै ताप्लेजुङबासी आक्रोसित बनेका छन् । कोरोना महामारीको समयमा हेलिकप्टर सेवा प्रदायकले ताप्लेजुङदेखि काठमाडौं सम्मको भाडा दोब्बर लिएकोमा जिल्लाबासीले बिरोध जनाएका हुन् ।
दोब्बर भाडा लिएको विरोधमा जिल्लाबासीको तर्फबाट ताप्लेजुङ उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष ज्ञानप्रसाद मिश्र, राजनीतिककर्मी तथा सामाजिक अगुवा अमिर मादेन, स्थानीय व्यवसायी तथा समाजसेवी राजा मादेन लगायतका प्रतिनिधिले बुधबार प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । यसअघि हेलिकप्टर चार्टर गर्नुपर्दा तीन लाख रुपैयाँ भाडा रहेकोमा अहिले दोब्बर लिन थालेका ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

ताप्लेजुङबासीले बुझाएको ध्यानाकर्षणपत्र

जिल्लामा कोरोनाको संक्रमण बढेसँगै आपतकालिन सेवाका लागि हेलिकप्टर झिकाउनुपर्ने भएकाले भाडा दोब्बर असुल्नुको कारण प्रस्ट्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको ज्ञानप्रसाद मिश्रले बताउनुभयो । मानवीयता र सेवा नै धर्म हो भन्ने कुरालाई बिर्सिएर दोब्बर भाडा लिएकोमा आपत्ति जनाउँदै सरकारसक्षम साथै सम्बन्धित पक्षसम्म पुग्नेगरी प्रजिअ पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइएको मिश्रले बताउनुभयो । जिल्लाबासीले पहिलेकै अर्थात उचित भाडा दरमा हेलिकप्टर सेवा उपलब्ध गराउन पनि सेवा प्रदायक पक्षलाई अनुरोध गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts