| |

कोभिड रोकथाम तथा व्यवस्थापनबारे भर्चुअल अन्तर्किया सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३ ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको सचिवालयको आयोजनामा सोमबार बिहान कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी भर्चुअल अन्तर्किया सम्पन्न भएको छ । ताप्लेजुङका जनप्रतिनिधि, स्थानीय तहका पदाधिकारी, कार्यालय प्रमुखहरु लगायत सरोकारवालाको सहभागितामा भर्चुअल अन्तर्किया सम्पन्न भएको हो ।
अन्तर्कियामा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे र जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जिल्लामा कोभिड प्रभाव र रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयास र अन्य अवस्थाबारे जानकारी गराउनुभएको थियो । यस्तै जिल्लामा उपलब्ध रहेको स्रोत, साधनको अवस्था जनशक्ति र व्यवस्थापनमा भइरहेको पहलका विषयमा समेत प्रजिअ पाण्डेले अवगत गराउनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमितको संख्या दिनदिनै बढ्दै गएको र हाल जिल्ला अस्पतालले सामना गर्दै आएको अवस्थाबारे डाक्टर लामाले जानकारी गराउनुभएको थियो । जिल्ला अस्पतालमा विशेषज्ञ जनशक्तिको अभाव रहेको, नमुना परीक्षण गर्ने एन्टिजेन किटको अभाव हुने स्थिति, थप आइसोलेसन कक्षको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको लगायतका विषयमा लामाले अवगत गराउनुभयो ।
यता स्थानीय तहका जनप्रतिनिधिहरुले पनि कोभिड महामारीसँगै भोग्नुपरेको चुनौतीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले स्थानीय तहबाट परीक्षणका लागि पठाएको स्वाब प्रयोगशालाले लिन नमान्ने गरेको अवस्थाले गम्भीर बनाएको बताउनुभयो । पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ, फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई लगायतले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गर्नुपर्ने क्रियाकलाप र निभाउनुपर्ने भूमिका तथा जिम्मेवार हुनुपर्ने अवस्थाबारे धारणा राख्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आफ्नो ठाउँबाट हाल गर्दै आएको सहयोग र आउँदो दिनमा जिल्लाका लागि गर्नुपर्ने सहयोगमा कुनैपनि कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । अन्तर्कियामा प्राध्यापक डाक्टर सन्दुक रुइत, प्रमुख विशेषज्ञ डाक्टर महेन्द्र श्रेष्ठ, प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव लगायतले कोरोना नियन्त्रण, उपचार, जनस्वास्थ्य सुरक्षामा अपनाउनुपर्ने सावधानी आदि विषयमा प्रस्ट्याउनुभएको थियो । भर्चुअल अन्तर्कियामा प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ, होमकुमारी साँबा, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन लगायतका अन्य जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts