| |

भीमकाली गुल्म ः कोभिड देखि भूकम्प र आगलागि नियन्त्रण सम्मको सारथी बन्दै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,३० बैशाख । ताप्लेजुङ स्थित नेपाली सेनाको भीमकाली गुल्मले कोरोना संक्रमण देखि आगलागी र भूकम्प जस्ता बिपद् नियन्त्रण तथा व्यवस्थापनमा आफुलाइ दरिलो मनकारी निकायको रुपमा उभ्याउन थालेको छ । पछिल्लो समय महामारीको रुपमा रहेको कोरोना संक्रमणको चुनौतीको सामना गर्न गुल्मले स्थानीय प्रशासनलाइ ८ वटा महत्वपूर्ण सुझाव दिएको छ । जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा नेपाली सेनाले खाद्यान्न ढुवानीका सवारीको निगारानी,अत्यावश्यक खाद्य पदार्थको बिक्री बितरणमा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना र कोरोना संक्रमित बिरामीको संख्यात्मक लगत राखी निगारानी गर्ने सुझाव दिएको हो ।‘नेपाली सेनाको दायित्व र जिम्मेवारी अनुसार हामीले निर्वाह गर्नुपर्ने भूमिकामा कमी नहोस् भन्नेमा सचेत छौं’भीमकाली गुल्मका गुल्मपति सेनानी राजन बस्नतेले भन्नुभयो ।

उहाँले कोरोनाको बृस्तीतिकरण कार्यक्रम सञ्चालन गर्ने,जनचेतना प्रवाहका लागि गस्ती अभियान सञ्चालन गर्ने,थप अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्ने,भेन्टिलेटरको व्यवस्थापन गर्न पहलकदमी लिने र पहाडी र दुर्गम जिल्ला भएका कारण सिकिस्त बिरामीलाइ थप उपचार गर्नका लागि अनकनमा हेलिकोप्टर उपलब्ध गराउन सक्ने गरी निजी हेलिकोप्टर व्यवसायीसंग समेत समन्वय गर्न सुझाव प्रस्तुत जानकारी दिनुभयो । गुल्मले बिभिन्न जिल्लाबाट पाथीभरा मन्दिर सहितका धार्मिक÷पर्यटकिय स्थलहरुको अवलोकन तथा भ्रमणमा आउने व्यक्तिहरु,बिबाह,ब्रतवन्ध,पाटी तथा अन्य मानिसको जमघट हुने कार्यमा उपस्थित भएका मानिसहरु र ताप्लेजुङ जिल्लामा कोभिड–१९ को दोस्रो भेरिएन्टका कारण निशेधाज्ञा जारी हुनु अगावै रोजगारीका लागि भारत सहितका मुलुक गइ फर्केका नागरिकहरुबाट कोरोना संक्रमण फैलिएको अनुमान लगाएको छ । गुल्मले कोरोना संक्रमण नियन्त्रणका लागि दिनको २ पटक सदरमुकाम फुङलिङमा माइकिङ गरी गस्ती गर्ने,शव व्यवस्थापनका लागि ३ वटा टोली पीपीइ सेट सहित तयारी हालतमा राखिएको,कोरोना संक्रमणबाट मृत्यु भएका १ जना मृतकको शव व्यवस्थापन गरेको,जिल्ला कारागारमा नियमित सुरक्षा प्रदान गरिरहेको र कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि ४४ जनाको टोली प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा खटिएको जनाएको छ ।

नेपाली सेना आपतबिपद्मा समेत जनतासंग रहने गर्छ । त्यसको एक उदाहरण भीमकाली गुल्मले दोभान बजारमा लागेको आगो नियन्त्रणमा निर्वाह गरेको भूमिकाले समेत प्रष्ट पार्छ ।‘नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले आगलागी नियन्त्रणका लागि प्रयास नगरेको भए सायद त्यति चाँडो आगो नियन्त्रणमा आउने सम्भावना थिएन’दोभान बजारका अग्नि पीडित दीपक धितालले भन्नुभयो । बिपद्मध्येको अर्को हो‘भूकम्प’ । भूकम्प कहिले आउँछ,जान्छ भन्ने निक्र्यौल हुँदैन । तर यसबिरुद्ध पूर्व सावधानी र प्रतिकार्य योजना बनाउन भने सकिन्छ । जिल्ला रेडक्रस सोसाइटी ताप्लेजुङका पूर्व सभापति गणेश अधिकारी भूकम्प आइहाले कसरी जोगिने र यसको व्यवस्थापन अर्थात् प्रतिकार्य योजना कसरी अघि बढाउने योजना भन्ने बिषय यसको व्यवस्थापनमा लाग्ने पक्षले थाह पाइ राख्नुपर्ने बताउनहुन्छ ।

भीमकाली गुल्मले भूकम्प प्रतिरोधी कार्यका लागि जनचेतना प्रवाह र प्रतिकार्य व्यवस्थापनका लागि समेत भूमिका निर्वाह गर्दै आएको गुल्मले जनाएको छ । ताप्लेजुङ बाढी र पहिरो समेतको जोखिममा छ । त्यहिँ जोखिमलाइ मध्यनजर गर्दै गुल्मले बाढी र पहिरो जस्ता बिपद् जोखिम बिरुद्ध समेत कार्ययोजना तयार गरेको जनाएको छ । सीमावर्ती क्षेत्र रहेको ताप्लेजुङको उपल्लो र दक्षिणी क्षेत्रबाट हुने वन्यजीवको सम्भावित चोरी तस्करीका सूचना संकलन गर्ने,त्यसबिरुद्ध गस्तीमा समेत जाने र चोरी तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने कार्यमा समेत भीमकाली गुल्मले भूमिका निर्वाह गर्दै आएको पाइएको छ ।

Similar Posts