ताप्लेजुङमा बुधबार ६३ नयाँसहित ६५ जनाको रिपोर्ट पोजेटिभ आयो
–उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २९ । ताप्लेजुङमा बुधबार नयाँ ६३ सहित ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार १०० जनाको पीसीआर रिपोर्ट आएकोमा ६५ जनाको पोजेटिभ आएको हो । उक्त संख्यामध्ये दुई जनाको पुनः रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका लक्षण देखिएका र यसअघि संक्रमित भएकाहरुको नजिक सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरी पठाएकोमा ३४ जना महिला र ३१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आउनेहरु अधिकांस फुङ्लिङ नगरपालिकाका छन् भने मिक्वाखोला गाउँपालिकाका सात जना, मेरिङ्देनका तीन जना, सिरिजङ्घाका दुई जना र आठराई त्रिबेणी तथा सिदिङ्वा गाउँपालिकाका एक–एक जना रहेका स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
बुधबार थप भएकासमेत अब जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय २४ पुगेको छ । यस्तै एकजना संक्रमणमुक्त हुनुभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।