|

ताप्लेजुङको आठराइ त्रिबेणीले कोभिड–१९ शंकास्पद बिरामीको पीसीआर जाँच गर्दा लाग्ने शुल्क र यातायात शुल्क व्यहोर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,२६ बैशाख । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले पालिका भित्रका कोभिड–१९ शंकास्पद बिरामीको पीसीआर जाँच गर्दा लाग्ने शुल्क र यातायातको व्यवस्था पालिका आफैंले व्यहोर्ने निर्णय लिएको छ । पालिका अध्यक्ष बिश्वनाथ सिटौलाका अनुसार पालिकाको सिफारिसमा सबै शंकास्पद बिरामीको पीसीआर परीक्षण गरिने छ भने यातायात र जाँच शुल्क पालिका आफैंले व्यर्होने भएको निर्णय गरेको हो । पालिकाले बिबाह,ब्रतवन्ध,छेवर,पास्नी लगायतका सामाजिक कार्यमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै बढीमा २५ जना मात्र सहभागी हुन पाउने र सामाजिक परम्परा अनुसार शव अन्त्येष्टीका लागि मलामी जाँदा समेत २५ जना भन्दा बढी उपस्थित हुन नपाउने निर्णय लिएको छ ।

सामाजिक कार्य र मलामीका लागि पनि मास्क,स्यानीटाइजर सहितको प्रवन्ध र प्रयोगलाइ अनिवार्य गर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा अधिकृत सीता लावतीले जानकारी दिनुभयो । गाउँपालिकाले २ जेठ सम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिका क्षेत्रका सबै गतिविधिमा प्रतिवन्ध लगाएको छ । यो अवधिमा हाट बजार,मेला उत्सव,जात्रा,बिबाह,भोज लगायत भिडभाड हुने कार्य नगर्न÷नगराउन समेत पालिकाले आग्रह गरेको छ । पालिका अध्यक्ष सिटौलाले मठमन्दिर,चर्च,गुम्बा र मस्जिद लगायतमा नियमित गर्नुपर्ने पूजा बाहेक मानिस जमघट हुने गरी हुने पूजापाठका कार्य नगर्न÷नगराउन,सबै प्रकारका सभा,सम्मेलन,गोष्ठी,सेमिनार,मनोरञ्जनस्थल,सैलुन,ब्युटीपार्लर,जिमखाना,कर्भडहल,पुस्तकालय र समूहमा खेलिने खेलकुद नेखेल्न÷नखेलाउन वा सञ्चालन नगर्न÷नगराउन सबैलाइ अनुरोध गरेको छ ।

पालिकाले दैनिक उपभोग्य बस्तु जस्तै खाद्यान्न,फलफुल,तरकारी,पानी,माछामासु,अण्डा,दुग्धजन्य पदार्थ,खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य बस्तुका पसलहरु र निर्माण आयोजनामा प्रयोग हुने निर्माण सामग्री बिक्री बितरणका लागि समय निर्धारण गरेको छ । जस अनुसार यस्ता पसललहरु बिहान ६ः०० देखि १० र अपरान्ह ४ः०० देखि सााझ ६ः०० बजे सम्म मात्र खुल्न पाउने निर्णय गरेको छ । पालिकाले पालिकाको केन्द्र हाङ्पाङमा सञ्चालित राष्ट्रबैंकबाट प्रवाह हुने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य कामकाजहरु २ जेठ सम्म बन्द गर्ने निर्णय लिएको छ । पालिकाले नेपाल सरकार,प्रदेश सरकार,जिल्ला संकट व्यवस्थापन केन्द्रले तोकेको नियम पालना तथा स्वास्थ्य प्रोटोकलको अनिवार्य पालना गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts