| |

फुङ्लिङमा हाट बजार पूर्णरुपमा बन्द, तरकारीजन्य वस्तुको चरम अभाव

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २६ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लाग्ने हाटबजार पूर्ण रुपमा बन्द भएको छ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा साताको मङ्गलबार र शनिबार लाग्ने हाट बजार पूर्ण रुपमा बन्द भएको हो ।
गएको मङ्गलबार सामान्य लागेको भए पनि शनिबार भने हाटबजार ठप्प नै भएको छ । सदरमुकाममा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले गएको सोमबारदेखि निषेधाज्ञा गरेकाले समेत हाट बजार पूर्ण रुपमा बन्द भएको हो । निषेधाज्ञामा मानिसहरु घर बाहिर निस्कने अवस्था छैन भने हाट बजार बन्द हुँदो फुङ्लिङ बजारमा तरकारजन्य वस्तुको हाहाकार भएको छ ।
सागसब्धी लगायत तरकारीजन्य वस्तुका लागि हाट बजारमा नै निर्भर रहनुपर्ने बजारबासीलाई तरकारीका लागि निक्कै समस्या भएको छ । मङ्गलबारको हाट बजारमा खरिद गरेको तरकारीले शनिबारसम्म र शनिबार लाग्ने हाटमा खरिद गरेको तरकारीले मङ्गलबारसम्म पुर्याउने गरेकोमा अहिले तरकारीजन्य वस्तुको अनिकाल लागेको एक स्थानीयले बताउनुभयो । पहिले डुलुवा तरकारी व्यापारीबाट पनि अभाव टार्ने गरेकोमा हाल निषेधाज्ञाका कारण ठप्प भएको उहाँको भनाइ छ ।
बजारबासीका लागि तरकारी उपभोग गर्न नपाएर समस्या छ भने तरकारी उत्पादन गर्ने ग्रामीण क्षेत्रका किसानलाई उत्पादित वस्तु बिक्री गर्न नपाउँदा घाटा भएको छ । सदरमुकाम आसपासका किसानले हप्तामा दुई दिन लाग्ने हाट बजारलाई नै लक्षित गरी तरकारी खेती गर्ने गरेकामा अहिले हाट बन्द भएपछि साथै बजारमा डुलाएर (घुम्ती सेवा) बिक्री गर्ने अवस्थासमेत नहुँदा घाटा भएको दोखु हेलिप्याटका एक किसानले बताउनुभयो ।
गोलभेडा, भिन्डी, च्याउ, काउली, धनियापात, बन्दा, गाँजर, मुला लगायतका तरकारीजन्य वस्तु समयमा बिक्री गर्न नपाउँदा सडिएर जान थालेको किसानले बताएका छन् । सङ्क्रमणको जोखिम बढ्दै गएमा र निषेधाज्ञा कायम रहेमा साथै हाट बजार खुल्ने अवस्था नबनेमा तरकारी खेतीमा गरेको लगानी डुब्ने भएपछि किसानमा चिन्तासमेत पर्न थालेको छ । सदरमुकामभित्र कोरोना सङ्त्रमणको अवस्था भने भयाभह बन्दै गएको छ । सङ्क्रमणका कारण चार जनाको मृत्यु भइसकेको छ भने हाल एक सय जना बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

Similar Posts