|

ताप्लेजुङमा दुई सय ४१ जनाको स्वाब संकलन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २० ।
ताप्लेजुङमा दुई सय ४१ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएको छ । पछिल्लो १० दिनयता कोरोना सङ्क्रमणका कारण तीनजनाको र आइतबार मात्र एकजनाको शंकास्पद मृत्यु भएपछि नजिक सम्पर्कमा रहेकाहरु समेतको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार आइतबार एक सय ८३ जना र सोमबार ५८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न कोभिड अस्पताल विराटनगर पठाइएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइनमा शुक्रबार राती एक वृद्धा महिला र शनिबार सोही ठाउँका एकजना पुरुषको सङ्क्रमणका कारण मृत्यु भएपछि सो क्षेत्रका बासिन्दाको स्वाब सङ्कलन गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका खोक्लिङकासमेत गरी एकसय ८३ जनाको स्वाब सङ्कलन गरेर आइतबार साँझतिर पीसीआर परीक्षणका लागि विराटनगर पठाएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । यस्तै आइतबार सदरमुकाम फुङ्लिङस्थित तोक्मे बजारका एक व्यवसायीको शंकास्पद मृत्यु भएपछि सो क्षेत्रकासमेत सोमबार ५८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाएको उहाँले बताउनुभयो ।
दुई दिनमा गरी कुल दुई सय ४१ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाइएको र मङ्गलबार अपराह्न पछिबाट रिपोर्ट आउनसक्ने उहाँको भनाइ छ । उहाँकाअनुसार सङ्क्रमण पुष्टि भएकाको मृत्यु भएपछि साथै शंकास्पद विरामीको समेत मृत्यु भएपछि कन्ट्रयाक ट्रेसिङका र सम्भावित लक्षण देखिएकाहरुलाई खोजी–खोजी स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्न पठाउन थालिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts