| |

राष्ट्रिय जनगणनाको तयारी स्थगित, अब नयाँ आवदेखि शुरु गरिने

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, बैसाख २० । कोरोना भाइरस (कोभिड-१९) महामरीका कारण दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय भएको तथ्याङक विभागले जनाएको छ । जनगणनाका सबै काम तत्कालका लागि स्थगित गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको तर, औपचारिक रुपमा विभागमा पत्र आइनपुगेको विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताउनुभयो ।
लामिछानेका अनुसार हाललाई स्थगित भए पनि कोरोना संक्रमणको अवस्थालाई हेरेर कार्यतालिका बनाएर काम अघि बढाइने छ। तर चालु आर्थिक वर्षमा सम्भावना कम रहेकाले आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु गर्ने विभागको लक्ष रहेको उहाँले जानकारी दिनुभयो । बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो भने यो तालिम पनि स्थागित भएको छ ।
कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । १० वर्ष पछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएपनि तथ्याङक विभागले कार्यक्रमलाई अघि बढाउन नसकेपछि सरकारसँग स्थागित गर्ने प्रस्ताव लगेको राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुङटेलले बताउनुभयो । गणकलाई तालिम दिए पछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका रहेको थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम भने सम्पन्न गरिसकेको जनाएको छ ।
एक गाउँपालिकामा १० जना सम्म गणक भएकाले ठूलो भीड हुने भएकाले सम्भावना कम भएको विभागको भनाइ छ । नयाँ नयाँ व्यक्तिलाई जनगणनामा सामेल गराएकाले भर्चुअल माध्यमबाट तालिम असम्भव भएकाले स्वास्थ्य मापदण्ड अपनाएर समेत काम अघि बढाउन सकिने अवस्था नभए पछि स्थगित गर्नुको विकल्प नभएको विभागले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts