फुङ्लिङतर्फ आउने जाने सवारीमा पाथीभरा याङ्वरकले लगायो प्रतिवन्ध
ताप्लेजुङ,२०बैशाख । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले गाउँपालिका क्षेत्रबाट फुङ्लिङ नगरपालिकातर्फ आउने–जाने सवारीमा प्रतिवन्ध लगाएको छ । सोमवार पालिका अध्यक्ष केशरकुमार सुब्बाको अध्यक्षतामा बसेको द्रुत प्रतिकार्य टोली(आरआरटी)को बैठकले ४ महत्वपूर्ण निर्णय गरेको पाथीभरा याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यक अवस्था बाहेक अर्को निर्णय नभइञ्जेल सम्मका लागि पाथीभरा याङ्वरक गाउँपालिका क्षेत्रबाट फुङ्लिङतर्फ सवारीको आवागमन बन्द गरिएको छ । यो बेला निर्माणजन्य सामग्री,खाद्यान्न तथा तरकारी बोकेका गाडी,एम्बुलेन्स सहितका अत्यावश्यक सेवा प्रदान गर्ने सवारीलाइ स्वास्थ्य मापदण्ड अपनाएर मात्र आवागमन खुल्ला गरिने निर्णय भएको चौधरीले जानकारी दिनुभयो । पाथीभरा याङ्वरक गाउँपालिकाले फुङलिङ नगरपालिकालाइ ताप्लेजुङ भित्रको कोरोना हस्पट क्षेत्रको रुपमा लिएको छ ।
यस्तै पालिका अन्र्तगतका बिद्यालयहरुमा सञ्चालन भइरहेको बार्षिक परीक्षा अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि स्थगित गर्ने निर्णय लिएको छ । बढ्दो कोरोना संक्रमणको प्रभावलाइ ध्यान दिदैं पालिकाले २६ बैशाख सम्मका लागि पालिका र मातहतका निकायले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय लिएको छ । प्रमुख प्रशासकीय अधिकृत चौधरीका अनुसार स्वास्थ्यतर्फ पनि इमेरजेन्सी र फिवर क्लिनिक मात्र सञ्चालनमा हुनेछन् भने ओपीडी सेवा बन्द गरिएको छ । यस्तै योजना सम्वन्धीका कार्यहरु दर्ता,सम्झौता र फरफारक,वडाबाट प्रवाह हुने सिफारिस र पञ्जीकरण सम्वन्धीका कार्य रोकिएका छन् । गाउँपालिकाले कोरोना प्रभावबाट जोगिने उपाय तथा आरआरटीको बैठकले गरेका निर्णय प्रचारको जिम्मेवारी नेपाल रेडक्रस सोसाइटी थेचम्बु उपशाखालाइ दिएको छ ।