ताप्लेजुङमा सोमबार साँझबाटै निषेधाज्ञा लागु हुने, अटेर गर्नेलाई कारबाहीको तयारी

ताप्लेजुङ, १९ बैशाख । ताप्लेजुङमा सोमवार मध्यरातबाट लागु हुने भनिएको निशेधाज्ञा सोमवार साँझबाटै सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवार साँझ ६ बजेबाट ७ दिन सम्म निशेधाज्ञा जारी गर्ने निर्णय लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । निशेधाज्ञा तत्कालका लागि फुङलिङ नगरपालिका भर लागु हुने भएको छ । आइतवार अपरान्ह बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठकमा प्रजिअ पाण्डेले कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निशेधाज्ञाको तयारी गरिएको जानकारी गराउनु भएको थियो ।

प्रजिअ पाण्डेले १० बर्ष भन्दा कम उमेरका र ६० बर्ष भन्दा माथिको उमेर समूहका कुनै पनि व्यक्ति निशेधाज्ञा अवधिभर घर बाहिर निस्कन नपाउने बताउनुभयो । यो बाहेक अनुमति प्राप्त व्यक्ति अत्यावश्यक कामका लागि भने बाहिर निस्कन सक्ने उहाँले जानकारी गराउनुभयो । यसैबीच कोरोना संक्रमण तथा व्यवस्थापनका क्रममा ऐन बिपरित हुने कार्य गरेमा संक्रामक रोग निवारण ऐन अनुसार कारवाही गर्ने तयारी प्रशासनले गरेको छ । प्रजिअ पाण्डेले कोरोना मिल्दोजुल्दो लक्षण देखिएर पनि परीक्षण तथा उपचारको पहुँचमा नजाने,स्वाब दिएका र शंकास्पद व्यक्ति क्वारेन्टिनमा नबसी हिड्डुल गर्ने,अत्यावश्यक काम बाहेक घर बाहिर निस्कनेलाइ संक्रामक रोग निवारण ऐन अनुसार कारवाही गर्ने बताउनुभयो ।

संक्रामक रोग निवारण ऐन अनुसार ऐनका प्रावधान अटेर गर्नेलाइ ६ महिना कैद वा ६ सय रुपैंया जरीवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । यसैबीच श्वास प्रश्वासको समस्याका कारण ज्यान गुमाएका फुङ्लिङ नगरपालिका वडा नं ४ का युवा व्यवसायी प्रेम हाङ्गामको शव परिवारजनले नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अन्त्येष्टी गर्ने भएका छन् । कोरोना संक्रमण पुष्टी भइ नसकेको अवस्थामा नेपाली सेनाले शव व्यवस्थापन गर्न नमिल्ने भएपछि उहाँका आफन्तजनले नै शव अन्त्येष्टी गर्नु हुने छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले शव व्यवस्थापनका लागि ४ थान पीपीइ सेट उपलब्ध गराएको समेत प्रजिअ पाण्डेले जानकारी दिनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्य समिति सदस्य रहनु भएका हाङ्गामलाइ श्वास प्रश्वासको समस्या आएपछि बिहान ताप्लेजुङ अस्पताल ल्याइएकोमा चिकित्सकले थप उपचारका लागि झापा रेफर गरेका थिए । उहाँलाइ उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि ताप्लेजुङ नै फर्काइएको थियो ।