लिम्बुवानद्वारा अग्निपीडितलाई राहत वितरण
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ९ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई राहत वितरण गरेको छ । संघीय लिम्बुवान मञ्चका विभिन्न प्रवास समितिले संकलन गरी पठाएको साढे नौ लाख रुपैयाँ बढी राहत रकम बिहीबार अग्निपीडितलाई वितरण गरिएको हो ।
संघीय लिम्बुवान मञ्च ताप्लेजुङका अध्यक्ष भूपेन्द्र माबोका अनुसार संघीय लिम्बुवान मञ्च युके प्रवास समिति, इजरायल प्रवास समितिसहित विभिन्न सात वटा प्रवास समितिले संकलन गरी पठाएको कुल नौ लाख ७८ हजार ३१० रुपैयाँ रकम पीडित परिवारलाई वितरण गरिएको हो । संघीय लिम्बुवान मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’, १ नं. प्रदेशसभा सदस्य विष्णुमाया तुम्बाहाम्फे, संघीय लिम्बुवान सामाजिक मञ्च युकेकी उपाध्यक्ष शर्मिला यक्सो चोङ्बाङ लगायतका मञ्चका केन्द्र तथा जिल्लास्तरीय नेतृत्वहरुको उपस्थितिमा राहत रकम वितरण गरिएको जिल्ला अध्यक्ष माबोले जानकारी दिनुभयो ।
संघीय लिम्बुवान मञ्चका प्रवास समिति युकेबाट पाँच लाख ३६ हजार ७००, इजराइलबाट एक लाख ८० हजार ७४५, कतारबाट एक लाख ३७ हजार ८६५, बहराइनबाट ५३ हजार, कोरियाबाट ३० हजार र मलेसियाबाट ४० हजार रुपैयाँ रकम संकलन गरेर पठाएको बताइएको छ । उक्त रकम अग्तिपीडित ५६ परिवारलाई १७ हजार रुपैयाँका दर र बाँकी दुई परिवारलाई १२ हजार ७२२ रुपँयाँका दरले वितरण गरिएको संघीय लिम्बुवान मञ्च ताप्लेजुङले जनाएको छ । गत फागुन १८ गते भएको आगलागीबाट दोभान बजारका ५० घर जलेर पूर्णरुपमा नष्ट भएको थियो भने उक्त आगलागीबाट ६३ परिवार विस्थापित भएका छन् । सो आगलागीबाट ४० करोड रुपैयाँ बढीको क्षति भएको छ ।