| |

फुङफुङ्गे होमस्टेमा बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख ७ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड–१९ को महामारीकाबीच सञ्चालनमा आएको होमस्टेमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण होमस्टे सञ्चालनको सुरुवातमै नराम्ररी धक्का पाएका सञ्चालकका लागि पर्यटकहरुको अहिलेको चहलपहलले आशा जगाएको छ । घरमै बसेर आम्दानी गर्ने योजनाका साथ होमस्टे (घरबास) सेवा सुरु गरेका सञ्चालकले बिस्तारै पाहुना आउन थालेपछि आम्दानी पनि सुरु भएकोे बताएका छन् ।
फुङफुङ्गे सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष विजय लिम्बूले पछिल्लो समय सुरु भएको आन्तरिक पर्यटकको चहलपहलले सञ्चालकहरुमा आशा र उत्साह जगाएको बताउनुभयो । कोभिडको महामारीले सबै क्षेत्र ठप्प बनाएपछि होमस्टे सञ्चालनको कुनै अनुभूत गर्न नपाएको अहिले घरघरमा पाहुना राख्न पाउँदा र सेवा दिएबापत शुल्क लिन पाउँदा निरास निरास बनेका सञ्चालकको मुहारमा बिस्तारै खुशी छाउँदै गएको लिम्बूले बताउनुभयो ।
जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्न सयौं पर्यटकहरु त्यहाँ पुग्न थालेका छन् । ताप्लेजुङसहित पाँचथर, तेह्रथुम लगायत पूर्वका जिल्लाबाट आन्तरिक पर्यटकहरु झरनाको भ्रमणमा पुग्ने गरेका छन् । तेम्बा बस्ती नजिक रहेको फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकनमा जाने पर्यटकले नै होमस्टे भरिभराउ हुने गरेको सञ्चालक बताउँछन् । करिव डेढ दर्जन घरमा होमस्टे सेवा गरिएको कुनै दिन सबै घरमा पाहुनाको बास हुने गरेको सञ्चालक सन्तोष लिम्बूले जानकारी दिनुभयो ।
फुङफुङ्गे झरना लगायत प्राकृतिक दृश्यका साथै लिम्बू समुदायको मौलिक कला र संस्कृति प्रदर्शनले होमस्टेमा आउने पाहुनाको मन जित्दै आएको छ भने गाउँ नै ढाकेको अलैँची खेतीसमेत अवलोकन गर्नमा पाहुनाहरु व्यस्त हुने गरेका छन् । अर्का सञ्चालक सन्तकुमार लिम्बूका अनुसार होमस्टे सेवा लिन आउने सेवाग्राही अर्थात पाहुनालाई लिम्बूको मौलिक संस्कृति याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), येःबालाङ (बिजुवा नाच) जस्ता प्रस्तुतिहरु देखाउने गरिएको छ । यिन लिम्बू कला संस्कृति प्रदर्शनमा पर्यटकहरु निक्कै रमाउने गरेका लिम्बूले बताउनुभयो ।
यता होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको सञ्चालक समिति अध्यक्ष लिम्बूको भनाइ छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिकी धान्ने गरेको पाइए पनि फुङफुङ्गे सामुदायिक होमस्टे सञ्चालक सदस्यहरुको त्यस्तो योजना वा अवस्था नरहेको उहाँले बताउनुभयो । जिल्लाको पर्यटन प्रवर्ध्दनमा सहयोगन पुर्याउने तथा फुङफुङ्गे झरनाको भ्रमणमा आउने पर्यटकलाई सुविधा दिने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याएको सञ्चालक बताउँछन् ।
यता सरकारले फुङफुङ्गे झरनालाई पर्यटकीय गन्तव्यको सूचीमा सूचिकृत गरेपछि साथै झरनासम्म नै सडकको पहुँच पुगेपछि पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो । सदरमुकाम फुङ्लिङदेखि सवारी साधनमार्फत मेरिङ्देन गाउँपालिकाको दोभान बजार, सान्थाक्रा, थुकिमा हुँदै करिव साढे तीन घण्टामा झरना पुगिन्छ । जिप, ट्याक्सी, मोटरसाइकल जस्ता सवारी साधनमार्फत फुङफुङ्गे झरना पुग्न सकिन्छ । झरनाको अवलोकनपछि सोही क्षेत्रमा बास बस्न चाहानेहरुका लागि होमस्टे सञ्चालनमा ल्याइएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts