| |

ताप्लेजुङमा राष्ट्रिय जनगणनाबारे तयारी सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ६ ।
ताप्लेजुङमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु गरिएको छ । आगामी बैशाख २६ गतेदेखि प्रारम्भ हुने राष्ट्रिय जनगणना कार्यक्रमबारे जिल्लामा तयारी सुरु गरिएको हो ।
जिल्ला जनगणना कार्यालय ताप्लेजुङले सोमबार जनगणनासम्बन्धी जिल्लास्तरीय सचेतना गोष्ठी आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । स्थानीय तहका जनप्रतिनिधि पदाधिकारीसहितका सरोकारवाला सहभागी भएको सचेतना गोष्ठीमा जनगणना कार्यक्रमबारे जिल्ला जनगणना अधिकृत देउप्रकाश तामाङले जानकारी गराउनुभएको थियो । कार्यक्रमबारे जानकारी गराउँदै तामाङले राष्ट्रिय जनगणनालाई सफल बनाउन सबै स्थानीय तहका पदाधिकारी र सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभयो ।
देशैभर सञ्चालन हुने राष्ट्रिय जनगणना २०७८ को कार्यक्रमअनुसार आउँदो बैशाख २६ देखि जेठ १४ गतेसम्म सुपरीवेक्षकहरु आ–आफ्नो कार्यक्षेत्रमा खट्ने छन् । एक नगरपालिका र आठ गाउँपालिकासमेत गरी नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा ५८ जना सुपरीवेक्षक र दुईसय ३० जना गणक परिचालन हुने जिल्ला जनगणना अधिकृत तामाङले जानकारी दिनुभयो । कार्यक्षेत्र खट्नु अघि यही बैशाख १६ देखि २२ गतेसम्म सुपरीवेक्षकहरुलाई अनुशिक्षण तालिम प्रदान गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार करिव २० दिनको समयसम्म आफ्नो कार्यक्षेत्र खटेर सुपरीवेक्षकले घर सङ्ख्या, जनसङ्ख्या लगायतका तथ्याङ्क सङ्कलन गर्ने छन् । सुपरीवेक्षकले गर्ने कार्य सम्पन्न भएपश्चात जेठ २५ देखि असार ८ गतेसम्म १५ दिने अवधिमा गणकपरिचालन हुने उहाँले जानकारी दिनुभयो । नौवटा स्थानीय तहको ६१ वटै वडाका गाउँगाउँमा परिचालित हुने गणकहरुले प्रत्येक परिवारको अवस्था, व्यक्तिगत विवरण लगायतका तथ्याङ्क सङ्कलन गर्ने जिल्ला जनगणना कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय जनगणना कार्यक्रमलाई व्यवस्थित बनाउन स्थानीय स्तरमा समेत कार्यालय सञ्चालनमा ल्याउने तामाङले बताउनुभयो । उहाँका अनुसार फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकालाई हेर्नेगरी फुङ्लिङमा स्थानीय तहस्तरको कार्यालाय स्थापना हुने छ ।
यस्तै सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकालाई हेर्नेगरी सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोक र मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकालाई हेर्ने मेरिङ्देन गाउँपालिका केन्द्र सान्थाक्रामा कार्यालय स्थापना गरिने जनाइएको छ । उक्त स्थानीय स्तरको कार्यालयमार्फत जनगणना कार्यक्रममा प्रयोग हुने सामग्री लगायत अन्य व्यवस्थापनका कार्य सम्पादन हुने जिल्ला जनगणना कार्यालयले जानकारी दिएको छ ।
यसरी सुपरीवेक्षक र गणकले तोकिएको समय सीमाभित्र आफ्नो जिम्मेवारीअनुसार काम सम्पन्न गर्ने र आगामी असार १५ गतेभित्र राष्ट्रिय जनगणनाको सबै कार्य पूरा हुने जनगणना कार्यालयले जनाएको छ । यता ताप्लेजुङको भूगोल र मानव बस्तीको संरचनाअनुसार सुपरीवेक्षक र गणकको सङ्ख्या कम हुनेभन्दै तथ्याङ्क विभागसमक्ष जनशक्ति थप गर्नका लागि अनुरोध गर्ने निर्णय भएको जिल्ला जनगणना अधिकृत तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार सुपरीवेक्षक १० र गणक १४ जना थप गर्न माग गर्ने निर्णय भएको छ ।
गोष्ठी कार्यक्रम जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनको प्रमुख आतिथ्यतामा र प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा भएको थियो । गोष्ठीमा फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला, मिक्वाखोला गाउँपाकिा अध्यक्ष रामकुमार साँबा, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ, फुङ्लिङ नगरपालिका उपप्रमुख बमबहादुर भट्टराई, मेरिङ्देन उपाध्यक्ष कल्पना तुम्बाहाम्फे, पाथीभरा याङ्वरक उपाध्यक्ष रनमाया गुरुङ लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Similar Posts