|

देशको शासकीय स्वरुप र स्थानीय सरकारको भूमिका बुझाउन सिरिजङ्घाले गर्यो अन्तरपालिका बक्तृत्वकला

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ४ । नयाँ बर्ष २०७८ को अवसर पारेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका अन्तर बिद्यालय बक्तृत्वकलामा सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनाम स्थित सिनाम माविकी छात्रा निशाम थेबे पहिलो हुनु भएको छ । आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङस्थित सरस्वती माविका ललिता खाती द्धितिय र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनस्थित शारदा माविका रेविका तामाङ तृतीय हुनुभयो । फुङ्लिङ नगरपालिका वडा नं ४ स्थित भानुजन माविका शोभा सेम्बु र फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माविका दीपेश लिम्बू सान्त्वना बन्नुभयो । पहिलो हुनेले ३० हजार,दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैंया नगद सहित प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । सान्त्वना बन्नु भएका दुईजनालाइ जनही नगद ३ हजार रुपैंयाका साथ प्रमाणपत्र प्रदान गरिएको थियो । ९ मध्ये ८ स्थानीय तहका २७ वटा सामुदायिक बिद्यालयका बिद्यार्थी सहभागी भएको प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा स्थानीय सरकार,शासकीय प्रणाली,स्थानीय सरकार र जनतासँगको सम्वन्धका बारेमा प्रतियोगीको वाककलाका आधारमा फाइनल चरणमा ५ जना छानिनु भएको थियो । फाइलन चरणमा स्थानीय सरकारका पदाधिकारीलाइ सरकारले दिएका २२ वटा अधिकार क्षेत्र र जनप्रतिनिधिको भूमिकामा केन्द्रित रहेर तथ्यमा आधारित वाककला प्रस्तुत गर्न लगाइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । केहि जनप्रतिनिधि प्रति जनतामा देखिएको निरासाका कारण के रहेछन् र के गर्दा समुदायका सदस्यप्रति स्थानीय सरकारले खुसी छर्न सक्छ भन्ने कारण पहिचान गरी स्थानीय सरकार र जनता बीच नयाँ उचाइको सम्वन्ध स्थापितका लागि पहल गर्न बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । फाइनल चरणको बक्तृत्वकलामा छानिएकाहरुलाइ यदि पालिकाको प्रमुख÷उपप्रमुख पदमा उम्मेदवार बनेको खण्डमा जनता माझ तपाँइका एजेण्डा र चुनावी नारा के हुनेछन् भन्ने बिषयमा समेत धारणा राख्न लगाइएको थियो । प्रतियोगितामार्फत बिद्यालय तहबाटै देशको शासकीय प्रणाली र स्थानीय सरकारको दायित्व तथा जिम्मेवारी संगै नागरिकको कर्तव्यप्रति सजग गराउने मूख्य उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो ।

सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ,आठराइ त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराई र सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष ज्ञानमाया चौहानको समेत उपस्थिति रहेको थियो । निर्णायक मण्डलको नेतृत्व अन्तर जिल्लाका प्रमुख प्रशासकीय अधिकृतले गर्ने प्रतियोगिता सञ्चालन कार्यविधि अनुसार पाँचथरको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले त्यसको अगुवाइ गर्नु भएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts