| |

बिनादर्ता र खारेज भएका सहकारी सञ्चालन गरे कारबाही

अरुलाई पनि शेयर गरौ !

-खगेन्द्र अधिकारी
ताप्लेजुङ, बैशाख ३ ।
बिना दर्ता वा खारेज भइसकेको सहकारी संस्था सञ्चालन गरेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दण्ड र जरिवाना गर्ने भएको छ । नगरपालिकाले दर्ता बेगर जारी गरेको सहकारी ऐनमा कुनै व्यक्ति, फर्म वा कम्पनीले आफ्ना नाममा सहकारी शब्द वा सो शब्दको अंग्रेजी रुपान्तरण राखी कुनै कारोबार, व्यवसाय, सेवा प्रवाह वा अन्य कुनै कार्य गरेमा त्यसलाई कसुर ठान्ने भएको छ । यस्तो अवस्थामा कसुर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने ऐनले व्यवस्था गरेको छ ।
यस्तै तोकिएको भन्दा बढी रकम ऋण प्रदान गर्दा जनामत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा, संस्थाबाट जुन प्रयोजनका लागि ऋण लिएको हो सो प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरेमा वा गराएमा र कुनै संस्था वा सोको सदस्य वा बचतकर्ता वा तिमध्ये कसैलाई हानी नोक्सानी पुग्ने गरी लेखा परीक्षण गरे गराएमा वा लेखा परीक्षण गरेकोल झुटो प्रतिवेदन तयार पारेमा वा पार्न लगाएमा पनि कसुर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने ऐनमा उल्लेख गरिएको छ ।
यस्तै सदस्यको बचत नगरपालिकाकाले बनाएको ऐन तथा ऐनको अधीनमा रही बनेका नियम र बिनियमबमोजिम बाहेक अन्य कुनै प्रयोजनमा खर्च गरेमा बिगो बराबरको रकम जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था ऐनमा गरिएको छ । समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेमा कसुरमा बिगो भराई बिगो बमोजिम जरिवाना गरी बिगो अनुसारको क्षतिपूर्ति गरिने भएको छ ।
ऋण असुर हुन नसक्ने गरी समितिका कुनै पनि सदस्य, निजको नातेदार वा अन्य व्यक्ति वा कर्मचारीलाई ऋण दिई हिनामिना गरेमा, मिलेमतोमा संस्थाको शेयर वा बचत रकम आफु खुसी परिचालन गरी संस्थालाई हानी नोक्सानी पु¥याएमा, झुटा वा गलत विवरण पेश गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा, वा ऋण हिनामिना गरेमा, कृत्रिम व्यवसाय खडा गरी गराई ऋण लिएमा वा दिएमा, झुटो विवरणको आधारमा परियोजनाको लागत अस्वभाविक रुपमा बढी बढाई ऋण लिएमा वा दिएमा कारबाही हुने ऐनले व्यवस्था गरेको छ ।
यस्तै ऋणको धितोको स्वरुप राखिने चल अचल सम्पति लिलाम बिक्री वा अन्य प्रयोजनका लागि मूल्याङ्कन गर्दा, मूल्याङ्कनकर्ताले बढी, कम वा गलत मूल्याङ्कन गरी संस्थालाई हानी नोक्सानी पु¥याउने कार्य गरेमा वा गराएमा र संस्थालाई हानी नोक्सानी पु¥याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै पनि किसिमको रकम लिन वा दिन, बिना मूल्याङ्कन वा कम मूल्यमा कुनै माल बस्तु वा सेवा लिन दिन, दान, दातब्य, उपहार वा चन्दा लिन दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन, गैर कानुनी लाभ वा हानी पु¥याउने बद्नियतले कुनै कार्य गरेमा वा गराएमा पनि कसुर अनुसारको कारबाही हुने ऐनले व्यवस्था गरेको छ ।
यो अवस्थामा १० लाख सम्मको बिगो भए १ वर्ष, १० देखि ५० लाख सम्मको बिगो भए २ देखि ३ वर्ष, ५० लाखदेखि १ करोड रुपैयाँ सम्मको बिगो भए ३ देखि ४ वर्ष र १ करोड रुपैयाँदेखि १० करोड रुपैयाँ सम्मको बिगो भए ४ देखि ६ वर्षसम्म कैद सजाय हुने प्रावधान ऐनमा व्यवसथा गरिएको छ ।
यस्तै १० करोड भन्दा बढी १ अर्ब रुपैयाँ सम्मको बिगो भए ६ देखि ८ वर्ष र १ अर्ब रुपैयाँ माथि जतिसुकै बिगो भएपनि ८ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने ऐनले व्यवस्था गरेको छ । कुनै व्यक्ति वा संस्थालाई एकपटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभइ वा सो सुरक्षणले खामेको मूल्य भन्दा बढी हुने गरी सोहि सुरक्षण अन्य संस्थामा राखी पुन ऋण लिए वा दिएमा २ वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts