|

बैशाख ७ गतेबाट हेलिकोप्टरमार्फत ताप्लेजुङका पर्यटकिय स्थलको भ्रमण अवलोकन गर्न पाइने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ३१ । पर्यटकिय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बैशाख ७ देखि ११ सम्म हेलिकोप्टरमार्फत ताप्लेजुङका पर्यटकिय स्थलहरुको अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । पर्यटन(होटल) व्यवसायी सुरेश लिम्बूको अगुवाइमा हेलिकोप्टरमार्फत ताप्लेजुङका पर्यटकिय स्थलहरुको अवलोकन भ्रमणको व्यवस्था मिलाइएको हो । लिम्बू फुङ्लिङ स्थित मेवाखोला हिल रिर्सोट प्रालिका प्रोपाइटर समेत हुनुहुन्छ । उहाँका अनुसार धार्मिक एवम् पर्यटकिय स्थल पाथीभरा,तिम्बुङ पोखरी र फुङ्फुङगे झरना,फुङ्लिङ बजार परिक्रमा र माग अनुसार ओलाङ्चुङगोला र घुन्सा लगायतका क्षेत्रमा हेलिकोप्टरमार्फत भ्रमण अवलोकनको अवसर मिलाइन लागेको छ । बैशाख ७ देखि ११ गते सम्म पाइने यो सुबिधा मेवाखोला हिल रिर्सोटले आफ्नै हेलिप्याड मैदानमार्फत प्रदान गर्न लागेको छ । आफ्नै हेलिप्याडमार्फत गन्तब्य सम्म पु¥याएर पुन सोहि हेलिप्याडमा अवतरण गराउने संयोजनकर्ता लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार फुङ्लिङ बजार परिक्रमाको प्रतिव्यक्ति शुल्क ५ हजार कायम गरिएको छ । यस्तै पाथीभरा मन्दिर र फुङ्फुङ्गे झरना सम्मको प्रतिव्यक्ति शुल्क १२–१२ हजार रुपैंया र तिम्बुङ पोखरी सम्मको प्रतिव्यक्ति शुल्क २२ हजार रुपैंया कामय गरिएको छ । गोला र घुन्साको दर भने आपसी समझदारीमा कायम हुने उनले जानकारी दिनुभयो । सिम्रिक एअरको हेलिकोप्टरमार्फत दिइन लागेको सेवाका लागि बैशाख ६ गतेको साँझबाटै हेलिकोप्टर मेवाखोला हिल रिर्सोटको हेलिप्याड मैदानमा राखिने भएको छ । सस्तो मूल्यमा धार्मिक तथा पर्यटकिय स्थलहरुको भ्रमण तथा अवलोकन गर्न पाइने भएकोले मौकाको सदुपयोग गर्न समेत लिम्बूले सबैलाइ आग्रह गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts