ओली समूहमा लागेकालाई पार्टीमा फर्कन आह्वान
-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३० । ताप्लेजुङस्थित नेकपा एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले ओली समूहमा लागेका कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गर्नुभएको छ । प्रदेशसभा सदस्यसमेत रहनुभएका नेपाल पक्षीय जिल्ला अध्यक्ष साम्सोहाङले आफूले नेतृत्व गरेको एमाले ताप्लेजुङको आधिकारिक भएको बताउँदै पार्टी सङ्गठनमा फर्कन कार्यकतालाई आह्वान गर्नुभएको हो ।
एमाले जिल्ला कमिटीको बैठकले गरेको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा साम्सोहाङले आफुहरु नै आधिकारिक भएकोले बिचारमा बिचलित नभई केपी ओली समूहतिर लागेका कार्यकर्तालाई सङ्गठनमा फर्कन आग्रह गर्नुभएको हो । यसअघि एमालेको १० औं जिल्ला अधिबेशनबाट आफू अध्यक्षमा निर्वाचित भएको र २०७५ जेठ २ को अवस्थाको कमिटी रहेकोले आपूmले नेतृत्व गरेको जिल्ला कमिटी नै आधिकारिक रहेको उहाँले दावी गर्नुभयो ।
सबै जनवर्गीय सङ्गठनसमेत विधानबमोजिम सञ्चालन हुने भएकोले आफूहरु मातहतको कमिटी मात्र बैधानिक र आधिकारिक हुने पनि उहाँको भनाइ थियो । उहाँले पार्टी सङ्गठनको बिधान बिपरीत सञ्चालनमा रहेका कमिटीहरु समानान्तर कमिटीको रुपमा रहने बताउनुभयो । उहाँ आफैंले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पार्टीलाई बिधान र पद्धतिबमोजिम एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको पनि उल्लेख गरिएको छ ।
पार्टी बिधान, नियमावली, अन्तरपार्टी निर्देशन, अन्तर सङ्गठन निर्देशन बिपरीत जाने अधिकार कसैलाई नभएको भन्दै आफूहरु पार्टीको बिधान र पद्धतिअनुसार चलिरहेकोले समानान्तर कमिटी गठनको बिषय नै नउठ्ने उहाँले दावी पनि गर्नुभयो । २०७५ जेठ २ को अवस्थालाई प्रस्थान बिन्दु मानेर पार्टी केन्द्र लगायत मातहतका सबै कमिटी सञ्चालनमा ल्याउनुको विकल्प नभएको उहाँ बताउनुहुन्छ । उक्त अवस्था कार्यान्वयन भएमा मात्र पार्टी एक ढिक्का भएर अघि बढ्न सक्ने पनि उहाँको तर्क छ ।
हाल ताप्लेजुङमा एमालेका दुई छुट्टाछुट्टै पार्टी कार्यालय र जिल्ला कमिटी रहेका छन् । तत्कालीन संविधानसभा सदस्य तथा एमाले जिल्ला कमिटी सदस्य भूपेन्द्र थेबेको ओली समूहको जिल्ला कमिटी रहेको र सो समूहले पनि आफूहरु आधिकारिक कमिटी भएको दावी गर्दै आइरहेको छ । ओली समूहको जिल्ला कमिटीमा राधाकृष्ण पौडेल उपाध्यक्ष र दीपेन पोमू सचिव रहनुभएको छ । एमालेको १० औं जिल्ला अधिबेशनबाट निर्वाचित अध्यक्ष साम्सोहाङ, उपाध्यक्ष मातृकाप्रसाद भट्टराई, सचिव केशरकुमार मेन्याङ्बो र उपसचिव मङ्गलसिंह केदेमसहित पदाधिकारी रहेको माधव नेपाल पक्षीय जिल्ला कमिटीले पनि आफूहरु नै आधिकारिक दावी गरिरहेको छ ।