जबरजस्ती करणी र सम्बन्ध विच्छेदका मुद्दा बढी

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ९ । ताप्लेजुङमा जबरजस्ती करणी र सम्बन्ध विच्छेदका मृद्दा वृद्धि भएको छ । जिल्ला अदालतका अनुसार विगतका वर्षभन्दा यसवर्ष जबरजस्ती करणी र सम्बन्ध विच्छेदसम्बन्धी वृद्धि भएको हो ।
जिल्ला अदालतले सोमबार स्थानीय सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै चालू आर्थिक वर्षमा दर्ता भएका मुद्दाको तथ्याङ्कअनुसार जबरजस्ती करणी र सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा बढी रहेको श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । श्रेस्तेदार रेग्मीका अनुसार जिल्ला अदालतमा दर्ता भएका मुद्दाको सङ्ख्यामध्ये करिव ३४ प्रतिशत सम्बन्ध विच्छेदका रहेका छन् । जबरजस्ती करणीसम्बन्धी १५ प्रतिशत मुद्दा रहेको उहाँले जानकारी दिनुभयो ।
अङ्शसम्बन्धी २० प्रतिशत, बहुविवाहका आठ प्रतिशत र लागूऔषधका सात प्रतिशत मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ । गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएको एकसय ४४ सहित चालू आवको फागुन मसान्त सम्ममा जिल्ला अदालतमा तीन सय ७६ वटा मुद्दा दर्ता भएका छन् । चालू आवमा साढे तीनसय नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा फागुन मसान्त सम्ममा दुई सय ३२ वटा दर्ता भएको अदालतले जनाएको छ ।
यता अदालतमा दर्ता भएका मुद्दामध्ये हालसम्म दुई सय १२ वटा मुद्दाको फछ्र्यौट भएको जिल्ला अदालतले जनाएको छ । मुद्दाको फछ्र्यौटमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको जिल्ला न्यायाधीस प्रकाश राउतले बताउनुभयो । हालको मुद्दा दर्ता र फछ्र्यौटको व्यवस्था अर्थात मुद्दा दर्ता भएको छ महिनाभित्र फैसला गर्नैपर्ने सरल मार्ग, एक वर्षभित्र फैसला गर्नुपर्ने सामान्य र डेढ वर्षभित्र फैसला गर्नुपर्ने विशेष मार्गको व्यवस्थाले प्रगति हासिल गर्नमा सहयोग पुगेको जिल्ला न्यायाधीस राउतको भनाइ छ ।
जिल्ला अदालतका अनुसार अब फछ्र्यौट हुन बाँकी रहेको मुद्दाको सङ्ख्यामध्ये एकसय २१ थान छ महिनाभित्रका छन् । छ महिनादेखि एक वर्षभित्रको २८ थान र एक वर्षदेखि १८ महिनाभित्रको १५ थान मात्र मुद्दा रहेका छन् । फैसला हुन बाँकी रहेकोमध्ये १८ महिना माथिको कुनैपनि मुद्दा नरहेको अदालतले जानकारी दिएको छ ।
त्यस्तै थुनुवा भएका मुद्दा सङ्ख्या ४६ मध्ये १९ वटाको फछ्र्यौट भएको छ । यसैगरी फैसला कार्यान्वयनको अवस्थाअनुसार एक हजार ४९० वर्ष कैदको समय असुल हुनुपर्नेमा १२७ वर्षमा असुल भएको जिल्ला अदालतले जनाएको छ । एक हजार ३६२ वर्ष असुल हुन बाँकी रहेको छ । जरिवानातर्फत तीन करोड १९ लाख ९६ हजार ५६३ मध्ये २१ लाख ९२ हजार ९२५ रुपियाँ असुल भई दुई करोड ९८ लाख तीन हजार ६३८ रुपियाँ बाँकी रहेको पनि जिल्ला अदालतका श्रेस्तेदार रेग्मीले जानकारी दिनुभयो ।