|

पाथीभरा याङ्वरकमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ८ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थालाई तन्दुरुस्त राख्नमा सहयोग पुर्याउने उद्देश्य राखेर गाउँपालिकाले उक्त कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमअन्तर्गत प्रत्येक वडामा पुगेर सुत्केरी महिलालाई पौष्टिक तत्व पाइने सामग्रीले भरिएको उपहार प्रदान गर्न थालिएको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले जानकारी दिनुभयो । उपाध्यक्ष गुरुङका अनुसार उपहार प्याकेजमा आमा र बच्चा दुबैका लागि आवश्यक पर्ने भिटामिन तथा पौष्टिक तत्व पाइने बिभिन्न उपभोग्य वस्तु रहेका छन् । यस्तै आमा र बच्चा दुबैका लागि अपनाइने स्वास्थ्य सावधानीका सन्देशहरुसमेत कार्यक्रममार्फत प्रवाह गरिँदै आएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार सुत्केरी तथा गर्भवती महिलाले अपनाउनुपर्ने सावधानी, परिवार तथा अभिभावकले गर्नुपर्ने सहयोगका बारेमा समेत कार्यक्रममार्फत जानकारी गराउने गरिएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. ५ चाक्सिबोटेमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रमको पहिलो चरण पूरा भएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत नै
आमा र बच्चाको स्वास्थ्य सम्बेदनशीलतालाई कसरी जोगाउने, आमा र बच्चाका लागि खानपिनको प्रवन्ध र व्यवस्थापन कसरी गर्ने लगायतका बिषयबारे स्वास्थ्यकर्मीले जानकारी गराउने प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीको भनाइ छ । सामान्यतया बच्चा दुई वर्षको हुँदा सम्मको अवधिलाई निकै सम्वेदनशील अवधि मानिने गरिएकाले गर्भवती महिला, सुत्केरी आमा र दुई वर्षभन्दा कम उमेरका बच्चालाई पोषिलो खाना, सरसफाई र राम्रो स्याहार तथा हेरचाहको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाले कार्यक्रम सुरु गरेको चौधरीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts