चुनावी हस्तक्षेपबारे पुटिनलाई बाइडेनको चेतावनी

अरुलाई पनि शेयर गरौ !

वासिङ्टन,माघ १५ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार पुटिनसँगको पहिलो टेलिफोन कुराकानीमा बाइडेनले त्यस्तो चेतावनी दिएका हुन् । ‘राष्ट्रपति बाइडेनले आफू र आफ्ना साझेदारलाई रुसले पु¥याउने क्षतिविरुद्ध राष्ट्रिय स्वार्थको बचाउमा अमेरिका बलियोसँग उभिने बताएका छन्,’ ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ । रुसी राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच ‘निकै सौहार्दपूर्ण रूपमा कामका विषयमा खुलस्त कुराकानी भएको’ जनाएको छ । कुराकानीका क्रममा दुई नेताबीच रुसमा जारी विपक्षीको प्रदर्शनका विषयमा कुराकानी भएको जनाइको छ । क्रेमलिनले दुई देशबीचको सम्बन्ध सामान्यीकरणका विषयमा आफ्नो ध्यानाकर्षण भएको र दोहोरो स्वार्थ सम्बोधन हुने जनाएको छ । उसका अनुसार बाइडेन र पुटिन परमाणु सम्झौतामा हस्ताक्षर गर्नका लागि पनि इच्छुक देखिएका छन् । ह्वाइटहाउसको विज्ञप्तिका अनुसार दुई राष्ट्रपतिबीच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफगानिस्तानमा रहेका अमेरिकी सेनामाथि रुसले मूल्य तोकेको विषय र एलेक्सी नाभाल्नीमाथि भएको विष हमलाबारे समेत कुराकानी भएको थियो । पुटिनले भने ‘विश्वमा सुरक्षा र स्थिरता कायम गर्न आफ्नो विशेष जिम्मेवारी रहेको कुरामा सचेत रहेको’ जनाएको छ । क्रेमलिनका अनुसार चुनाव जितेकामा पुटिनले बाइडेनलाई बधाई दिएका थिए । बाइडेनले पदभार सम्हालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन् । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनाव जित्नका लागि रुससँग साँठगाँठ गरेको आरोप लाग्दै आएको छ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूले उनी पुटिनप्रति निकै नरम भएको बताउने गरेका थिए । अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प कार्यकालमा रुस थुप्रै साइबर आक्रमणमा संलग्न भएको दाबी गर्ने गरेका छन् । ओबामा प्रशासन पनि रुसमाथि कमजोर भएको आरोप लाग्ने गरेको थियो । वर्तमान राष्ट्रपति बाइडेन ओबाका उपराष्ट्रपति थिए । क्रिमियालाई रुसले आफूमा गाभ्दा, पूर्वी युक्रेनमा हस्तक्षेप गर्दा र सिरियामा भएको दमनलाई समर्थन जनाउँदा रुसलाई रोक्न नसकेको आरोप ओबामा प्रशासनमाथि लाग्ने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts