|

५ दिनभित्र सबै जिल्लामा खोप

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,माघ ८ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पु¥याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । ‘कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन् ।’ स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ । काठमाडौंमा बिहीबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको छ । ‘कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार भएको छैन,’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भने, ‘बिहीबार जिल्ला पठाउने विवरण तयार भयो भने शुक्रबार बिहान खोप प्रदेशको भण्डारण स्थलमा पठाइसक्छौं ।’ जिल्लागत विवरण बिहीबार साँझसम्म तयार भइसक्ने मन्त्री त्रिपाठीले बताए । केन्द्रीय भण्डारणबाट दुई दिनभित्र प्रदेशमा र प्रदेशबाट थप दुई दिनभित्र जिल्लास्थित भण्डारण स्थलमा पु¥याउने योजना रहेको विभाग स्रोतले जनाएको छ । ‘बढीमा ५ दिनभित्र जिल्लामा खोप पुगिसक्नेछ,’ स्रोतले भन्यो । खोप लगाउन खटिने व्यक्तिलाई तालिम दिन भने अझै बाँकी छ । खोप लगाउने स्थानमा पु¥याउनुपर्ने आवश्यक सामान पनि पठाइएको छैन ।
विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले माथिल्लो तहका कर्मचारीलाई तालिम चलिरहेको जानकारी दिए । ‘खोप वितरण, ढुवानी, भण्डारण, स्वास्थ्यकर्मीको तालिम र सामग्रीहरू वितरण एकसाथ गर्छौं,’ उनले भने । विभागले बुधबार काठमाडौं उपत्यकाका अस्पताल प्रमुखहरूसँग कसरी व्यवस्थित रूपमा खोप लगाउन सकिन्छ भन्ने छलफल गरेको थियो ।
उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिनेलाई जिल्ला अस्पतालबाट खोप दिइनेछ । विभागले यसअघि नै स्थानीय तहमार्फत खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिसकेको छ । यसकै आधारमा मन्त्रालयले खोप पठाउन लागेको हो । जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । उपत्यकाबाहिर जिल्ला अस्पतालमा एउटा बुथ कायम हुने निश्चित भए पनि काठमाडौं, भक्तपुर र ललितपुरमा भने कति बुथ कुन–कुन अस्पतालमा रहने निश्चित नभएको गौतमले बताए । खोप लगाउन आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts