| |

बासु माविमा वैदिक शिक्षाको अध्ययन सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १६ ।
विवाह, शुद्धाइ, ब्रतवन्ध र पूजाआजा जस्ता कर्मकाण्ड गराउने कर्ताको अभाव टार्न ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ३ ले तीन महिने वैदिक कर्मकाण्ड प्रशिक्षणको सुरुवात गरेको छ । ताप्लेजुङको एकमात्र संस्कृत पाठशाला फुङ्लिङ नगरपालिका वडा नं ३ स्थित बासु माविमा बैदिक कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सुरुवात भएको हो ।
संस्कृत पाठशाला भए पनि द्वन्द्वकाल यता त्यहाँ बिद्यालय तहमा संस्कृत बिषयको पढाइ भने भएको छैन । नगरपालिकाले त्यहाँ वैदिक कर्मकाण्ड प्रशिक्षण सुरुआत गर्दा जातीय विविधता पनि झल्किएको छ । यो वैद्धिक कर्मकाण्डमा ब्राम्हण/क्षेत्री र दलित समुदायका व्यत्तित्वहरु पनि सहभागी हुनु भएको छ । यसले वैदिक कर्मकाण्डको सिकाइलाई पनि विविधतायुक्त बनाएको छ ।
वैदिक कर्मकाण्ड सिक्न आएका अशोक सुजीलाई करिव २६ वर्षपछि कर्मकाण्डको थप सिकाइ आर्जन गर्न प्रेरित गरेको छ । २०५० सालमा बासु संस्कृत माध्यमिक बिद्यालयमा संस्कृत बिषय पढ्नु भएका उहाँलाई अहिले बाबुको प्रेरणाबाट कर्मकाण्डको सिकाइका लागि ध्यानाकृष्ट गरेको हो । बाबु आफैं पण्डित भएको र समुदायमा कर्मकाण्ड गर्ने मानिसको अभावका कारण यो वैदिक कर्मकाण्डको पढाइ सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
वैदिक कर्मकाण्डको सिकाइका लागि अहिले समुदाय वा सम्प्रदाय नहेरिने वैदिक सनातन धर्म संस्कृति तथा संरक्षण समितिका अगुवा रामचन्द्र उपाध्याय दाहाल बताउनुहुन्छ । वैदिक सनातनभित्र सम्पूर्ण ओमकारका सदस्य अटाउने भएकोले वैदिक कर्मकाण्डको सिकाइका लागि ब्राह्मण÷क्षेत्री र दलित समुदायका व्यत्तित्व समेतको सहभागिता रहेको दाहालले बताउनुभयो । उहाँका अनुसार २० जना सहभागी हुने वैदिक कर्मकाण्ड सिकाइका क्रममा २ जना भने दलित समुदायका व्यत्तित्व सहभागी हुनुहुन्छ । अन्य भने ब्राह्मण/क्षेत्री समुदायका छन् ।
चालू आर्थिक वर्षका लागि नगरपालिका भित्रका सबै बिद्यालयहरुमा भाषा अध्ययन गर्न फुङ्लिङ नगरपालिकाले प्रति बिद्यालय ५० हजार रुपैयाँ बिनियोजन गरेको छ । स्थानीय आवश्यकता र परिवेशअनुसार सबै बिद्यालयहरुमा भाषा पढाइ अध्ययन गर्न प्राप्त रकमबाट बासु माविमा वैदिक कर्मकाण्डको प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष युवराज बराल बताउनुहुन्छ । रकम सानो भए पनि नयाँ प्रकृतिको सिकाइ र अहिले समाजमा आवश्यकताको बिषय भएकोले यो प्रशिक्षण कामयावी हुने बवडाध्यक्ष बरालले बताउनुभयो ।
अवस्था र प्रकृति हेरेर नगरपालिकामार्फत वडापालिकाले यस्ता प्रकृतिका अरु कार्यक्रम समेत सञ्चालन गर्ने योजना समेत उहाँले सुनाउनुभयो । नेपालकै बिभिन्न क्षेत्रहरुमा अध्ययनका क्रममा तल्लो र माथिल्लो जात भनेर गरिने भेदभावका खबरहरु पनि बेला बखतमा आउने गरेका छन् । तर फुङ्लिङ नगरपालिका वडा नं ३ मा सुरु भएको यस्तो विविधतायुक्त अध्ययनले कुप्रथाको रुपमा रहेको जातस्य भेदभाव अन्त्यका लागि समेत योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts