हेलिकोप्टरबाट पानी खसाल्ने सहितका सबै उपायद्धारा पाथीभरा क्षेत्रको डढेलो नियन्त्रण प्रयास

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,१३ पुस । मन्दिर परिसरमा आगो पस्न नदिन अग्नि रेखा बनाउने,जंगलमा दन्की रहेको आगो निभाउन हेलिकोप्टरबाट पानी खसाल्ने र मानवीय प्रयासले सम्भव हुने ठाउँमा डढेलो नियन्त्रणमा लिने उपायमार्फत प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरलाइ आगोको जोखिमबाट बचाउने प्रयास गरिएको छ ।

सम्भावित अन्य जोखिम क्षेत्रमा समेत अग्नि रेखा बनाएर डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्धन समितिको आजको आकस्मिक बैठकले मन्दिर क्षेत्रको जोखिम टार्न हेलिकोप्टर ल्याउनु पर्ने निश्कर्ष निकालेको थियो । सोमवार अपरान्ह आएको सिम्रिक एअरको हेलिकोप्टरले स्थानीय जोरपोखरी क्षेत्रबाट ५ पटक पानी ल्याइ डढेलो दन्की रहेको क्षेत्रमा खसाएर ढडेलो मार्ने प्रयास गरेको थियो । पाथीभरा मन्दिरमा कर्मचारी राजेन्द्र महतका अनुसार सोमबार ताप्लेजुङमै बस्ने हेलिकोप्टरले मंगलवार बिहानैबाट डढेलो क्षेत्रमा खसाएर डढेलो नियन्त्रणका लागि प्रयास गर्ने तयारी गरेको छ ।‘पानी बरफ झैं जमेको हुनाले पोखरीबाट उठाउन पनि झण्डै समस्या भएछ,बिहान त्यो अवस्था हामी आफैंले सहज बनाउने छौं’महतले भन्नुभयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी काफ्लेले सामाजिक सञ्जालमार्फत चौतर्फी प्रयासबाट डढेलो नियन्त्रणमा लिने कार्य भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी जानकारी दिनुभयो ।

उहाँले मन्दिरको पछाडिको भाग सम्म डढेलो आएर हाल नियन्त्रण भएको अवस्था भएकोले मन्दिर क्षेत्रमा जोखिम टर्दै गएको सन्देश सामाजिक सञ्जालमार्फत दिनु भएको छ । मन्दिर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । गत बिहीबारबाट सुरु भएको डढेलो अझै सम्म पूर्णतया नियन्त्रणमा आउन सकेको छैन । सोमवार बिहान अति बेग हावासंगै डढेलो मन्दिरतर्फ अगाडि बढेको थियो ।
फोटो ः अग्नि रेखा बनाएर मन्दिर परिसरमा आगो प्रबेश रोक्ने प्रयास गरिदैं । तस्बिर सौजन्य मनमणि काफ्ले ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts