|

ताप्लेजुङ सदरमुकाम स्थित संस्थागत क्वारेन्टिन आइतवारबाट खाली,खर्च बिवरण सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, पुस १२ । लामो समय देखि संस्थागत क्वारेन्टिनको रुपमा प्रयोग हुँदै आएको ताप्लेजुङ सदरमुकाम स्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको भवन आइतवारबाट खाली गरिएको छ । क्वारेन्टिनमा प्रयोग भएका सामान तत् तत् निकायलाइ बुझाउने गरी यो संस्थागत क्वारेन्टिन खाली गर्ने निर्णय भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभयो । संस्थागत क्वारेन्टिनको रुपमा प्रयोग हुँदै आएको आफ्नो भवन खाली गरिदिन ताप्लेजुङ उद्योग बाणिज्य संघले अनुरोध गर्दै आएको थियो । पछिल्लो समय ताप्लेजुङका पालिकाहरुले जिल्ला स्तरमै रहेको कोरोना कोषमा रकम जम्मा गरेर पीसीआर टेष्टका लागि स्वाब संकलन र परीक्षणका लागि पठाउने व्यवस्था समेत यहिँमार्फत हुँदै आएको थियो । जिल्ला स्तरीय कोषमा यहाँका नौ पालिका पालिकामध्ये मिक्वाखोला गाउँपालिका बाहेक सबैले रकम जम्मा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतवार फुङ्लिङ नगरपालिका,सिरिजङ्घा,पाथीभरा याङ्वरक,आठराइ त्रिबेणी,सिदिङ्वा,मेरिङ्देन,फक्ताङ्लुङ र मैवाखोला गाउँपालिकाबाट प्राप्त भएको २–२ लाख गरी १६ लाख रुपैंयाको खर्च बिवरण समेत सार्वजनिक गरिएको छ । प्रजिअ चापागाँइका अनुसार ८ लाख १६ हजार २५ रुपैंया खर्च भएको छ । बाँकी रकम जिल्ला स्तरीय कोरोना कोषमा बचत रहने छ । चापागाँइका अनुसार साउन महिनामा २ लाख ८२ हजार ९१० रुपैंया,भदौमा १ लाख १ हजार ३८९ रुपैंया,असोजमा २ लाख १९ हजार ५०० सय रुपैंया खर्च भएको छ । कात्तिक र मंसिर महिनामा २ लाख १२ हजार २२६ रुपैंया खर्च भएको देखिएको छ । कोषको रकम क्वारेन्टिन व्यवस्थापन खर्च,पीसीआर संकलन,परीक्षण लागि पठाइने एम्बुलेन्स खर्चमा प्रयोग हुँदै आएको छ । बचत भएको रकम अब पीसीआर संकलन,परीक्षण लागि पठाइने एम्बुलेन्स खर्चमा प्रयोग गरिने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts