चुनावमा धाँधलीको आरोप लागेकालाई ट्रम्पले बचाए
वासिङ्टन,पुस १० । अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा धाँधली गर्नका लागि रुसका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेकाहरूमाथिको संघीय छानबिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्य गरिदिएका छन् । राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरूमा उनका ज्वाइँ जरेद कुस्नरका बुबा र ट्रम्पनिकट दुई व्यक्ति छन् । अमेरिकी संघीय छानबिनका क्रममा उनीहरूको संलग्नता देखिएको थियो । ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ । उन्मुक्ति दिइएका व्यक्तिहरूमा जरेद कुस्नरका बुबा चार्ल्स कुस्नर, ट्रम्पका पूर्वचुनावी व्यवस्थापक पल मनाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन छन् । उनीहरूसहित ट्रम्पले हालसम्म २६ जनालाई उन्मुक्ति दिइसकेका छन् । ट्रम्पले भ्रष्ट रिपब्लिकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डलाई माफी दिइसकेका छन् । चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रुससँग मिलेमतो गरेको आरोप लागेका मनाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको भन्दै ट्रम्पको निकै आलोचना भएको छ ।