पुटिनले बाइडेनलाई दिए बधाई, सहकार्य गर्न तयार
(एजेन्सी)पुस १ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई मंगलबार औपचारिक रूपमा बधाई दिएका छन् । विश्वव्यापी सुरक्षालाई प्रवर्द्धन गर्ने गरी आफूहरूबीचका मतान्तरलाई थाती राखेर दुवै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको पनि राष्ट्रपति पुटिनले बताएका छन् । राष्ट्रपति पुटिनले बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको जनाएका हुन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ । इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्ने गरी औपचारिक रूपमा मतदान गरेसँगै पुटिनले बाइडेनलाई बधाई दिएका हुन् । तर बाइडेनले रुसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । चुनावी अभियानका क्रममा बाइडेनले पुटिनलगायत विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताएका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेका कारण ट्रम्पलाई विजयी हुन मद्दत पुगेको दाबी कतिपयको छ
बाइडेन राष्ट्रपतिमा विजयी भएको पुष्टि
अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी भएको इलेक्टोरल कलेजका सदस्यहरूले पुष्टि गरेका छन् । यसलाई अमेरिकी राष्ट्रपति चुनावलाई औपचारिक मान्यता दिने अन्तिम चरणका रूपमा लिइन्छ । नोभेम्बर ३ मा भएको चुनावमा ३ सय ६ इलेक्टोरल मतसहित जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २ सय ३२ इलेक्टोरल मत प्राप्त गरे । अमेरिकी चुनाव प्रणालीअनुसार मतदाताले देशभरबाट ५ सय ३८ इलेक्टर चुन्छन् । ती इलेक्टरले चुनावपछि राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रूपमा मत दिने गर्छन् । बाइडेनको जित औपचारिक रूपमै पुष्टि भए पनि ट्रम्पले भने हार स्वीकार गरेका छैनन् । चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले त्यसको कुनै प्रमाण भने पेस गर्न सकेका छैनन् । सामान्यतया इलेक्टरहरूको खासै चर्चा नहुने भए पनि यस वर्ष ट्रम्पले चुनावी नतिजा उल्ट्याउने चेतावनी दिएका कारण अर्थपूर्ण रूपमा हेरिएको थियो ।