जनस्तरबाट तीव्र माग भएका केहि योजना छाड्दै पर्यटनमन्त्रीद्धारा ३८ योजना छनौट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,२८ मंसिर । जनस्तरबाट तीव्र माग भएका केहि योजनालाइ छोड्दै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराइले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड बजेटका ३८ योजना छनौट गर्नु भएको छ । जस अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा नाबुखोला–भलायो भिर–सिमलधारा देखि पिपलबोटे प्रावि सम्मको मोटरबाटोका लागि १२ लाख बिनियोजन भएको छ । यस्तै छातेढुङ्गा मावि खेलमैदान निर्माणमा र सिंहदेवी खेलमैदान निर्माणमा समान १०–१० लाख रुपैंया बिनियोजन भएको छ । मैवाखोला गाउँपालिकास्थित मैवाखोला मावि तेम्बेको ट्रस सहितको सभाहलका लागि १९ लाख,चारभैया–खड्काटोल हुँदै भदन भण्डारी जोड्ने सडकका लागि १० लाख र हातिखावा ढुङ्गेसाँघु खेल मैदान निर्माणका लागि १२ लाख बिनियोजन भएको छ । मेरिङ्देनको आगु लुङ्जा–तेन्थाप हुँदै थुकिमा जाने मोटरबाटोका लागि ४० लाख,मिक्वाखोलाको दुङ्जा–चैलुङ्गे–सालबोटे हुँदै खानीखोला जाने सडक निर्माणका लागि १० लाख,सगरमाथा आधारभूत बिद्यालय खेलमैदानका निर्माणका लागि सातलाख,साँवा जलबिद्युत परियोजनाका लागि पाँचलाख र सिम्बुक जलबिद्युत निर्माणका लागि १० लाख रुपैंया बिनियोजन भएको छ । फक्ताङ्लुङको लिङ्खिमस्थित भक्त आधारभूत बिद्यालयको घेराबाराका लागि पाँचलाख,साँघु–मादिबुङ जोड्ने मोटरबाटोका लागि २० लाख र मानाभरा कृषि सडक खेजेनिमका लागि १० लाख बिनियोजन भएको छ । फुङ्लिङस्थित जिल्ला बाल कल्याण समितिको भवनमा कोरोना संक्रमितका लागि आइसोलेसन कष बनाउन २० लाख,भुटानेचौक हँुदै बुङ्कुलुङ–सत्रमुढेदेखि रामेटार सडक सडक निर्माणका लागि १० लाख,अधेंरी–मेवाराजा–खोदम्बु हँुदै नाङखोल्याङ जोड्ने मोटरबाटो र बालमन्दिर–टीका गुरुङको घर हुँदै नयाँ बसुपार्क जाने मोटरबाटो पक्की ढलानका लागि समान सात–सात लाख रुपैंयाको बजेट बिनियोजन भएको छ । यस्तै बालसुबोधिनी मावि देखि केनिम बगौंचा जोड्ने मोटरबाटो निर्माण र दीपज्योति आधारभूत बिद्यालय खेल मैदानका लागि पनि समान सात–सात लाख रुपैंयाको बजेट बिनियोजन भएको छ । धुपौरे गणेशको घर–टाकुरे–नासपाते कान्छाको घर–रेडक्रस हुँदै गैरी प्रावि फुरुम्बुका लागि पाँचलाख,शहरी स्वासथ्य इकाइ केन्द्र फुरुम्बुको भवन निर्माणका लागि सातलाख र फावाखोला खेल मैदान निर्माण तथा हिले सामुदायिक भवन निर्माण सुकेटारका लागि समान पाँच–पाँच लाख रुपैंया बिनियोजन भएको छ । यस्तै पराजुली चौकदेखि बिहीबारे हुँदै चण्डेश्वर धाम जाने सडक स्तरोन्नतीका लागि आठलाख रुपैंया बिनियोजन भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु शहीद स्मृति सामुदायिक सभागृहका लागि १२ लाख,गुप्ते–तिरिङ्गे सडक स्तरोन्नतीका लागि १० लाख,डुम्रिसे–ओरक्पे देखि पाथीभराधाम जाने मोटरबाटो र तुमाङ्खे–फावाखोला मोटरेवल पुल जोड्ने सडकका लागि समान आठ–आठ लाख रुपैंया बजेट बिनियोजन भएको छ । सिरिजङ्घा स्थित खेवाङ स्र्पोटिङ क्लवको खेलमैदान निर्माणका लागि २० लाख,काबेलीखोला माइक्रो हाइड्रो कूलो निर्माण र मुहान योजना याम्फुदिनका लागि आठलाख,आम्बेगुदिन(रजा)मावि खेलमैदान निर्माणका लागि १० लाख,जोरपुल–राष्ट्रिय मावि–आँपडाँडा हुदै खेवाङ मावि जोड्ने मोटरबाटो निर्माणका लागि सातलाख रुपैंया बिनियोजन भएको छ । सिरिजङ्घा गाउँपालिका वडा नं ३ सिकैचास्थित लक्ष्मी आधारभूत बिद्यालयको पहिरो निययन्त्रणका लागि पाँचलाख रुपंैंया बिनियोजन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित हप्पुखोला–मेहेले–रिजनडाँडा हुँदै खेवाङ जोड्ने मोटरबाटोका लागि १० लाख,सिद्धेश्वरी मावि सादेवाको खेल मैदान निर्माणका लागि सातलाख,सुन्तलेखोला लघू जलबिद्युत परियोजनालाइ केन्द्रीय प्रसारण लाइन मिलान गर्न मेहेलेलाइ १५ लाख र खोरिङ्वाघाट–आँगेपा हुँदै सिदिङ्वाधाम जाने मोटरबाटो निर्माणका लागि सातलाख रुपैंया बिनियोजन भएको छ । प्रशासनिक खर्च वापत जिल्ला समन्वय समितिमा पाँचलाख रुपैया जाने छ । मन्त्री भट्टराइले योजना छान्दा फुङ्लिङ जिमीपोखरी धारा तथा पार्क व्यवस्थापन,हप्तामा कम्तिमा तीनदिन ताप्लेजुङमै आँखाका डाक्टर ल्याएर उपचार गर्नेगरी डिचेन डोङ्लाको भवन स्तरोन्नती गर्ने लगायतका तीव्र माग भएका योजना छुटेको भन्दै योजना छनौट प्रकृयाको आलोचना पनि सुरु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts