|

फुङ्लिङ नगरपालिकाले ल्यायो‘आफ्ना लागि आफ्नै भवन’को नीति

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २७ । भाडामा रहेका ‘गाउँका सिंहदरवार’ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा दिने गरी धमाधम निर्माण कार्य थालेका छन् । फुङ्लिङ नगरपालिकाले पनि‘आफ्ना लागि आफ्नै भवन’को नीति लिएर नगरपालिका र वडापालिकाका भवन धमाधम बनाउन थालेको छ ।

नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार भाडामा रहेको नगरपालिका आउँदो आर्थिक बर्षको सुरुमै फुङ्लिङ नगरपालिका वडा नं ७ स्थित आफ्नै भवनमा सर्ने भएको छ । नगरपालिकाको भवन अहिले निर्माणाधिन अवस्थामा छ । ‘आफ्ना लागि आफ्नै भवन’अभियान अन्र्तगत फुङ्लिङ नगरपालिका वडा नं ४ ले शनिवारबाट भवन निर्माण कार्य प्रारम्भ गरेको छ । नगरपालिकाको न्यूरोड क्षेत्र नजिक उसले भवन बनाउन सुरु गरेको हो । वडा नं ४ को प्रशासकीय भवनको शनिवार फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले शिलान्यास गर्नु भएको छ ।

नगरउप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्की,कार्यपालिका सदस्य र नगरसभाका सदस्य सहितको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । वडाध्यक्ष जीतेन चेम्जोङ लिम्बूका अनुसार आउँदो बैशाख महिना भित्रमा भवन पूरा भइ वडापालिकाले नयाँ भवनबाटै सेवा बितरण गर्ने योजना छ ।

फुङ्लिङस्थित डेभिड निर्माण सेवाले दुइतले पाँचकोठे र शौचालय तथा नुहाउने कक्ष सहितको भवन भ्याट सहित ५२ लाख रुपैंयाको लागतमा बनाउने गरी ठेक्का पाएको छ । भवनको कूल अनुमानित लागत अनुमान भने भ्याट सहित ७४ लाख रुपैंयाको रहेको वडाध्यक्ष लिम्बूले बताए । नगरपालिकाका अनुसार ११ वटा वडामा आफ्नै भवन बनाउन सुरु गर्ने वडा नं ४ दोस्रो वडा भएको छ । यसअघि वडा नं १ ले पनि आफ्नै प्रशासकीय भवन बनाउन सुरु गरिसकेको छ । नगरप्रमुख प्याकुरेलले यहिँ कार्यकालमा नगरपालिका र नगरभित्र रहेका वडाका आफ्नै प्रशासकीय भवन बनाउने बचनबद्धता व्यक्त गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts