|

रिड नेपालमार्फत ताप्लेजुङका ५ बिद्यार्थीले पाए जर्ज वैण्ड मेमोरियल छात्रबृति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १२ । ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रबाट उच्च शिक्षा अध्ययन गर्ने जेहेन्दार बिद्यार्थीलाइ दिइदै आएको जर्ज वैण्ड मेमोरियल छात्रबृति यसबर्ष प्राविधिकधार अध्ययन गर्ने ५ जनालाइ बितरण गरिएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले बिगत ७ बर्षदेखि बितरण गर्दै आएको यस्तो छात्रबृति यो बर्ष प्राविधिक बिषय अध्ययन गरिरहेका ५ जनालाइ प्रदान गरिएको हो । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तका अनुसार ५ जनालाइ छात्रबृति बापत ४ लाख ८ हजार रुपैंया बितरण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माविबाट उर्तिणभइ कुमारी इञ्जिनियरिङ कलेजमा अध्ययनरत फुपुछिरिङ शेर्पाले १ लाख ४४ हजार रुपैंयाको छात्रबृति पाउनु भएको छ । ३ बर्षे कोर्षमा अध्ययनरत उहाँलाइ रिड नेपालले यो रकम कोर्ष पूरा नहुञ्जेल सम्ममा बितरण गरिसक्ने छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुस्थित सुनदेवी माविबाट उर्तिण दिलू लिम्बू र वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माविबाट उर्तिण अनुस्का राइलाइ जनही ७२–७२ हजार रुपैंयाका दरले १ लाख ४४ हजार रुपैंयाको छात्रबृति प्रदान गरिएको छ । २ बर्षे जेटिए कोर्षको अध्ययनका लागि उहाँहरु ताप्लेजुङकै सिरिजङ्घा गाउँपालिका वडा नं १ स्थित सिनाम माविमा भर्ना हुनु भएको छ । दुबैलाइ रिडले यो रकम २ बर्ष भित्रमा प्रदान गरिसक्ने छ । यस्तै सिरिजङ्घा गाउँपालिका वडा नं ७ खेवाङस्थित गणेश माविबाट उर्तिण दिवस दाहाल र दीपेश भट्टराईले क्रमशःजनही ७२ र ४८ हजार रुपैंयाको छात्रबृत्ति पाउनु भएको छ । दिवस ललितपुरस्थित लिटल एञ्जलमा विज्ञान बिषय लिएर अध्ययन गरिरहनु भएको छ भने दीपेश माध्यमिक तह उर्तिण बिद्यालय खेवाङमै शिक्षा संकाय बिषय लिएर अध्ययन गरिरहनु भएको छ । दिवस र दीपेशले यो रकम दुइबर्ष भित्रमा पाउनुहुने छ । अध्ययन गर्न लाग्ने बर्ष सम्म नै रिड नेपालले छात्रबृति प्रदान गरिरहने प्रावधान अनुसार कसैले २ बर्ष र कसैले ३ बर्ष सम्मनै छात्रबृति रकम पाउने रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूले जानकारी दिनुभयो । स्थानीय स्तरमा प्राविधिक जनशक्ति अभाव भइरहेको अवस्थालाइ मध्यनजर गर्दै कार्यक्षेत्र भित्रका जेहेन्दार बिद्यार्थीले पाउने छात्रबृत्ति प्राविधिक बिषय अध्ययन गर्नेहरुलाइ बितरण गरिएको रिड नेपालले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाको इखाबु,लेलेप,तापेथोक,ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन,खेवाङ र मामाङ्खेलाइ रिड नेपालले आफ्नो कार्यक्षेत्र मानेको छ । अहिले सम्म रिडले ६८ जना बिद्यार्थीलाइ यस्तो छात्रबृति प्रदान गरिसकेको छ । हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा नेपालका दुर्गम र हिमाली क्षेत्रहरुको शैक्षिक प्रवद्र्धनका लागि रिड नेपालले काम गर्दै आएको छ । जर्ज वैण्ड उहाँको नाम हो,जसले बिश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमालमा पहिलो पटक मानव पाइला राख्नु भएको थियो । हिमालयन ट्रष्ट युके तिनै जर्ज वैण्डको संस्थापन र अगुवाइबाट सुरु भएको अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । जर्ज वैण्ड भने दिवंगत भइ सक्नु भएको छ । रिड नेपाल हिमालयन ट्रष्ट युकेको आर्थिक व्यवस्थापनबाट चलिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts