|

संक्रमितको निगरानी टोलवासीबाटै

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर ७ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमित बाहिर हिँडडुल गर्न थालेपछि सरकारले उनीहरूको निगरानी गर्ने जिम्मा टोलवासीलाई दिने भएको छ । यसका लागि टोलटोलमा निगरानी समूह गठन गरिने भएको छ । समूहले संक्रमितको समस्या समाधान गर्नेछ र उनीहरूलाई १४ दिनसम्म घरबाहिर निस्कन रोक लगाउनेछ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथामका लागि स्थानीय वडा एवं टोलमा निगरानी समूह बनाई उनीहरूको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो । प्रत्येक वडा कार्यालयले छुट्टै समूह गठन गरी होम आइसोलेसनमा रहेका संक्रमितलाई स्वास्थ्य परामर्श दिने, स्वास्थ्य अवस्था निगरानी तथा उपचार गर्ने, थप उपचार आवश्यक परे अस्पताल लैजाने र मापदण्ड पालना गरेरनगरेको बारे अनुगमन गर्ने निर्णय भएको छ । ‘कोरोना संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको विवरण संकलन गर्ने, उनीहरूलाई स्वास्थ्य परामर्श दिने, होम आइसोलेसनमा बसेकालाई स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने र अस्पताल तथा सरकारी आइसोलेसन केन्द्र पठाउनुपर्ने भए समन्वय गर्ने अधिकार दिएर समूह गठनको प्रक्रिया अघि बढाइएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले भन्नुभयो, ‘होम आइसोलेसनमा बसेकाको निगरानी नगर्ने हो भने संक्रमण झन् बढ्ने भएकाले टोलटोलमै निगरानी समूह गठन अभियान थालेका हौं ।’ पछिल्लो समय धेरैजसो संक्रमित घरमा आइसोलेसनमा बसिरहेका छन् । उनीहरूको निगरानी हुन नसक्दा कतिपय नियमित काममा समेत गइरहेको गुनासो बढेको छ । श्रेष्ठका अनुसार एउटा समूहले बढीमा ५० घरको निगरानी गर्नुपर्ने हुन्छ । ५० घरभन्दा बढी भए अर्को समूह गठन गर्नुपर्ने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख छ । यस्तो समूह छुट्टै गठन नगरी टोल विकास, सुधार समितिमार्फत पनि संक्रमितको निगरानी गर्न सकिने छुट दिइएको छ । यस्ता समिति नभएको ठाउँमा क्लब, उपभोक्ता समिति, गुठी परिचालन गर्न सकिने मन्त्रालयले जनाएको छ । स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह तथा गुठीका सदस्यहरूलाई संक्रमितको निगरानी समूहमा राख्न सकिनेछ । अन्यका हकमा पनि आ–आफ्नो टोलमा भौतिक दूरी, घरबाहिर निस्कँदा मास्कको प्रयोग, सार्वजनिक स्थानहरूमा हातको सरसफाइ र सरकारले ल्याएको स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व पनि यही समूहलाई तोकिएको छ । ‘टोलमा अनावश्यक भीडभाड हुन नदिने, भेला नगर्न सचेत गराउनेजस्ता काम पनि यही समूहले गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts