प्रधानमन्त्री ओलीको घुन्सा आउने दोस्रो पटकको कार्यतालिका पनि स्थगित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने गरी तय भएको दोस्रो पटकको तालिका पनि स्थगित भएको छ । मंसिर ७ गते आइतवार आउने गरी तय भएको कार्यक्रम स्थगित भएको युवासंघका केन्द्रीय नेता क्षितिज थेबेले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)१ नं प्रदेश संसदीय दलका उपनेता टंक आङ्बुहाङले कार्यक्रम स्थगित भएको जानकारी आफुहरुले पाएकोले शुक्रवार बिहान घुन्सातर्फ प्रस्थान गर्ने कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो । यसअघि मंसिर ५ गते आउने गरी तय भएको प्रधानमन्त्री ओलीको कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो । दोस्रो पटक मंसिर ७ गतेका लागि तय भएको कार्यक्रम बारे बिहीबार मध्यान्ह जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहितको टोली बिहीबार अपरान्ह नै घुन्सातर्फ प्रस्थान गरेको थियो । टोली फक्तालुङ गाउँपालिकाको तापोथोक स्थित रानी पुल पुगेको छ । पूर्व सांसद,प्रदेश सांसद,जिल्ला समन्वय प्रमुख र फुङ्लिङ नगरपालिकाका प्रमुख सहितको टोली भने यसअघि नै घुन्सातर्फ प्रस्थान गरिसकेको छ । घुन्सा फउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन,हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न र सीमावर्ती क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली घुन्सा आउने कार्यक्रम तय भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts