|

मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो, सचिवालय बैठक १ बजे बालुवाटारमै

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर ३ । बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाक्नु भएको थियो । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेको बताइएको छ । यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिनु भएको हो । सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गर्नु भएको थियो । अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुग्नु भएको थियो । दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किनु भएको थियो । त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts