|

वर्तमान सरकार असक्षमः काँग्रेस नेता सिटौला

अरुलाई पनि शेयर गरौ !

सन्तोष पुर्कुटी
ताप्लेजुङ, कात्तिक ४ ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको वर्तमान सरकार क्षमता विहीन रहेको बताउनुभएको छ । झण्डै दुई तिहाई मतका साथ अढाई वर्षदेखि सत्ता सञ्चालन गरिरहेको नेकपा नेतृत्वको सरकारका गतिविधि हेर्दा सन्तोष गर्ने ठाउँ नभेटिएको सिटौलाले बताउनुभयो ।
मंगलबार ताप्लेजुङस्थित पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नागरिकका आधारभूत आवश्यकता समेत सरकारले पुरा गर्न नसकेको बताउनुभयो । “सरकारले केही गरेन भन्नुभन्दा पनि सत्ता नेतृत्वमा राज्य सञ्चालन गर्ने कुनै क्षमता छैन, मौलिक हक र सर्वोच्चको परमादेश विपरीत कोरोनाको उपचारबाटै पन्छिनुले पनि उसको क्षमता र दायित्वमाथि प्रश्न चिन्ह खडा भएकाछन्”–उहाँले भन्नुभयो ।
दिनानुदिन आम नागरिक संक्रमणको चपेटामा परिरहेकाबेला उनीहरुको उपचार र संक्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट पार्नुभएको छ । संस्थागत भ्रष्ट्रचार नियन्त्रण, संविधान कार्यान्वयन, महामारी नियन्त्रण लगायतका गतिविधिमा सरकार प्रभावकारी बन्न नसकेको उहाँको आरोप छ । समृद्धिको नारा लिएर सत्ता चलाइरहेको सरकारका गतिविधिले नागरिकमा उत्साह नभई निरासा छाएको भन्दै उहाँले जनतालाई आधारभूत सुविधा र मौलिक हकबाट बञ्चित गराउने जस्ता गतिविधि नगर्न सुझाव दिनुभयो । जनताको आवश्यकता एकातिर र सरकारको गतिविधि अर्कैतिर हुँदा नागरिकले दुःख पाएको उहाँको भनाइ छ । नागरिकको प्राथमिकता विपरीत अझै अघि बढे प्रतिपक्षि दल काँग्रेस चुप लागेर नबस्ने उहाँले चेतावनी दिनुभयो ।
यता पार्टीको महाधिवेशनका सन्दर्भमा कुरा गर्दै उहाँले महाधिवेशन छिट्टै हुँने र महाधिवेशनबाटै पार्टीभित्र देखिएको विभाजनलाई अन्त्य गरेर काँग्रेस अघि बढ्ने बताउनुभएको छ । काँग्रेसभित्र देखिएको विभाजनले पार्टीलाई झन कमजोर बनाउँदै लगेकाले यसप्रति अब सचेत भएर अघि बढ्नुको विकल्प नभएको तर्क गर्नुभयो । “महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति, सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुने छ” उहाँले भन्नुभयो ।
यस्तै पार्टीको नेतृत्वका लागि आफु समेत तयार भएर अघि बढेको बताउनुभएको छ । सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफु रहेको उहाँले स्पष्ट पार्नुभयो । सिटौलालाई काँग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निरासा छाएको भन्दै यसको अन्त्य गर्न पार्टीलाई सुझाब दिएका थिए । सिटौलासँगै पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानसमेत ताप्लेजुङ आउनुभएको थियो । उहाँहरु मंगलबार नै पाथीभराको दर्शन गरेर राजधानी फर्कनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts