कर्णालीमा नेकपा विवाद ः प्रदेश पदाधिकारीलाई काठमाडौं बोलाइयो
काठमाडौ,असोज २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाउनु भएको छ । कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओलीप्रचण्डको छलफलपछि प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाइएको हो । उहाँहरुलाई बिहीबार काठमाडौं आउन भनिएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाउनु भएको छ । आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ । अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल र प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ । माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । यसले गर्दा मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।