| |

तमोर नदीमा पानीको बहाव नघट्दा पुल निर्माणमा ढिलाई

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, असोज १९ ।
ताप्लेजुङस्थित तमोर नदीमा पानीको बहाव नघटेकाले निर्माणको कार्यमा अवरोध पुग्दै आएको छ । अझै नदीमा पानीको बहाव (सतह) नघट्दा निर्माणधीन हिरेवा–तमोर दोभान मोटरेवल पुल निर्माणको कार्य सुरु गर्नमा अवरोध पुग्दै आएको हो ।
तुलनात्मक रुपमा यसवर्ष लामो समयसम्म वर्षा भइदिएकाले नदी तथा खोलाहरुमा पानीको बहाव अहिले पनि उच्च रहेको छ । वर्षादको समयसँगै रोकिएको पुल निर्माणको कार्य नदीको पानीको बहावकै कारण अहिलेसम्म पनि सुरु गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीका अनुसार बर्खा समय सुरु हुनुअघि कोभिड–१९ का कारण आवश्यक निर्माण सामग्री सहज रुपमा ढुवानी गर्न नपाउँदा सोचेअनुसार कामलाई गति दिन सकिएको थिएन । त्यस्तै अहिले नदीमा पानीको बहाव नघटेकाले हालसम्म काम सुरु गर्न नपाएको हिमडुङ थोकर/सेवालुङ जेभी कम्पनीका प्रतिनिधि जसबहादुर लिम्बूले बताउनुभयो ।
जेठदेखि सुरु भएर भदौ महिनाको पहिलो साता सम्ममा वर्षादको समय अन्त्य हुनुपर्नेमा यसवर्ष त्यसो नभई करिव असोज पहिलो साताभर नै वर्षा भई दिएकाले हालसम्म तमोर नदीमा पानीको बहाव कायम रहेको लिम्बूले बताउनुभयो । नदीमा पानीको बहाव नघटेका कारण तत्काल निर्माणको कार्य सुरु गर्ने सम्भावना नहरेको पनि लिम्बूको भनाइ छ ।

अहिलेसम्म तमोर नदीमा पानीको बहाव ।

उत्तरदक्षिण लोकमार्ग आयोजना कार्यालयअन्तर्गत फुङ्लिङ नगरपालिकाको हिरेवा तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ जोड्ने निर्माणाधीन उक्त पुल आउँदो मङ्सिर मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने आयोजना कार्यालय र निर्माण कम्पनीबीच सम्झौता रहेको छ । तर, विभिन्न अवरोधका कारण सहज रुपमा काम गर्न नपाउँदा निर्धारित समयभित्र पुल निर्माणको कार्य सम्पन्न गर्ने अवस्था नरहेको निर्माण कम्पनीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts