शोकमा डुबेको एउटा परिवारलाई भेट्न खोज्दा सरकार डरायो ः राहुल

अरुलाई पनि शेयर गरौ !

नयाँ दिल्ली,असोज १६ । दुई दिनअघि उपचारका क्रममा मृत्यु भएकी भारतको उत्तरप्रदेश हाथरसकी दलित युवतीको परिवारलाई भेट्न हिँडेका विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनकी बहिनी प्रियंकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही घण्टा नियन्त्रण लिएपछि उनीहरुलाई दिल्लीतर्फै फर्काइएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आफ्ना कार्यकर्तासहित यमुना एक्सप्रेसबाट दिल्लीबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको हाथरसतर्फ जाँदै गर्दा बाटोमै प्रहरीले रोकेर नियन्त्रणमा लिएको हो । त्यसअघि प्रहरीले उनीहरु चढेको गाडीलाई रोकेको थियो । त्यसपछि राहुल र प्रियंका पैदल नै जान अघि बढेका थिए । तर, प्रहरीले पैदल पनि जान दिएन । त्यसपछि उनीहरु केही बेर अन्य कार्यकर्तासहित सडकमै धर्ना बसेका थिए । प्रहरीले धर्नामा बस्न दिएन । त्यहीबीचमा प्रहरीले धक्का दिँदा राहुल भुईँमा समेत लड्न पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर केही बेरमा एउटा गेष्टमा राखेर दिल्लीतर्फ नै ल्याएको छ । राहुल र प्रियंका आफ्ना कार्यकर्तासहित दुई साताअघि सामूहिक बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न युपी हासरथ जाने लागेका थिए । १९ वर्षीय दलित युवतीको उपचारका क्रममा गत मंगलबार दिल्लीमा मृत्यु भएको थियो । घरबाट केही पर घाँस काट्न गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको थियो । गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई सुरुमा युपीकै अलिगढको अस्पतालमा उपचार गरिएको थियो भने स्वास्थ्य गम्भीर बनेपछि सोमबार मात्र दिल्ली ल्याइएको थियो । तर, उपचारकै क्रममा क्रममा उनको मृत्यु भयो । घटनालाई लिएर युपीको सरकारको चर्को आलोचना सुरु भएको थियो । राज्यमा महिलाहरुविरुद्ध हिंसा बढेको भन्दै योगी सरकारप्रति कडा आक्रोस पोखिएको थियो । प्रहरीले परिवारको उपस्थिती बिनै मध्यरातमा मृतकको अन्तिम संस्कार गरेपछि त त्यसले आक्रोश थप बढाउने काम ग¥यो । राहुल र प्रियंका पीडित परिवारलाई भेटन भन्दै बिहीबार मध्यान्ह दिल्लीबाट हासरथतर्फ लागेका थिए । यसैबीच राहुल गान्धीलाई हासरथ जान रोकेको र दुव्यर्वहार भएको भन्दै कांग्रेस र अन्य विपक्षी दल एवं चर्चित कलाकारहरुले उत्तरप्रदेश (युपी) सरकारको विरोध गरेका छन् । पूर्व प्रधानमन्त्री एचडी देवगौडाले ट्विट गर्दै विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार भएको भन्दै राहुल र प्रियंकालाई तत्काल रिहा गर्न माग गरेका थिए । त्यसैगरी अभिनेता कमल हसनले ट्विट गर्दै घटनालाई राजनीतिक दुव्यर्वहारको हद भनेका छन् । उत्तरप्रदेश प्रहरीले भने घटनाका आरोपित चार जनालाई पक्राउ गरिसकेको जनाएको छ । साथै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका बुबासँग पनि फोनमा कुराकानी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, परिवारको अनुपस्थितिमै दाहासंस्कार गरिएको भन्दै युपी सरकारको चर्को आलोचना भइरहेको छ । यसै विषयमा भारतको राष्ट्रिय मानव अधिकार आयोगले पनि युपी प्रहरीसँग जवाफ मागेको छ । (कान्तिपुरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts