|

एक हजार ५५९ संक्रमित थपिए, एक हजार ५७ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौँ, असोज १४ ।
नेपालमा बुधबार एक हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त संख्यासगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । गौतमका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । देशभर ५ हजार ४२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा र २०१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२.५ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, सुनसरी, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमण शून्यमा झरेको छ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts