खेल मैदान निर्माणले लिङ्खिमका युवामा उत्साह
खगेन्द्र अधिकारी
ताप्लेजुङ, असोज १२ । ताप्लेजुङको लिङ्खिमका युवाहरु गाउँमै खेलमैदान निर्माण हुने भएपछि उत्साहित भएका छन् । युवा पिँढीको अध्यधिक रुचाइमा रहेको फुटबल खेल खेल्न मिल्नेगरी गाउँमै खेलमैदान निर्माण गर्न थालिएकाले उनीहरु उत्साहित भएका हुन् ।
पहाड तथा हिमाली क्षेत्रको अधिकांस भू–बनावट भिरालो र अग्लो कान्ला भएको हुने हुँदा फुटबल लगायतका खेलकुद गतिविधि सञ्चालन गर्ने खालका खेलमैदान न्युन हुने गर्दछन् । आवश्यक समतल तथा फराकिलो जमिनको अभावमा जताभावी खेलमैदानहरु नहुने र जमिन उपलब्ध भइहालेमा पनि खेलमैदान निर्माण गर्ने बजेटको व्यवस्था नहुन सक्छ ।
फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३ लिङ्खिममा भने गाउँपालिका र प्रदेश सांसद कोषबाट बजेट विनियोजन गरी खेलमैदान निर्माण गर्न सुरु गरिएको छ । गएको आर्थिक वर्षमा ताप्लेजुङ १ (क) बाट निर्वाचित प्रदेशसमा सदस्य बलबहादुर साम्सोहाङको सांसद विकास कोषबाट १० लाख रुपियाँ र फक्ताङ्लुङ गाउँपालिकाले अघिल्लो आवमा विनियोजन गरेको १२ लाखसमेत २२ लाख रुपियाँ खर्चिएर फुटबल खेल सञ्चालन गर्न मिल्नेगरी खेलमैदान निर्माण गर्न सुरु गरिएको छ ।
लिङ्खिमस्थित हिमकर्ण स्पोर्टिङ क्लबका अध्यक्ष देवराज लिम्बूका अनुसार हाल २२ लाख रुपियाँ बजेटले ग्याविन वाल लगाउने र माटो सम्याउने कार्य गरिएको छ । कुल ११ रोपनी क्षेत्रफल बराबरको जमिनमा खेलमैदान निर्माण गर्न थालेको र निर्माणको कार्य सम्पन्न गर्नलाई अझै बजेटको अपुग रहेको अध्यक्ष लिम्बूले बताउनुभयो ।
यता खेलमैदान निर्माण कार्यमा हालसम्मको प्रगतिको निरीक्षण गर्न पुग्नुभएका प्रदेशसभा सदस्यद्वय टङ्क आङ्बुहाङ र बलबहादुर साम्सोहाङसमक्ष थप बजेटको माग पनि स्थानीय क्लबले राखेका छन् । खेल मैदान निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्नलाई अझै ५० लाख रुपियाँ जति बजेटको आवश्यक पर्ने अनुमान गरिएको र गाउँपालिका साथै प्रदेश सांसदहरुसमक्ष अब आवश्यक बजेट सहयोग गरिदिन माग गरेको स्थानीय भीम लिम्बूले बताउनुभयो ।
मागअनुसार बजेट उपलब्ध भएमा खेल मैदान निर्माण भइसक्ने र खेलकुदमा चासो राख्ने युवाहरुको खेल दक्षतामा चाँडै विकास हुने अगुवा अभिभावक दिनेश अधिकारीले बताउनुभयो । स्थानीय खेलाडीको विकासले सिङ्गो देशको खेल क्षेत्रको विकासमा टेवा पुग्ने अधिकारीको बुझाइ छ ।