हारपछि धोनीको आलोचना

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),असोज ८ । राजस्थान रोयल्सलाई नतिजा सुम्पिएको खेलमा निकै सुस्त गतिमा खेलेको भन्दै चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनीको आलोचना भएको छ । संयुक्त अरब इमिरेट्सको शारजहाँमा मंगलबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान धोनीले आफूभन्दा अघि ब्याटिङका लागि इङ्ल्यान्डका अलराउन्डर साम करन र आइपिएलमा डेब्यु गरिरहेको रुतुराज गायकवार्डलाई पठाएका थिए । १४औं ओभरका लागि ब्याटिङमा आएका विकेटकिपर ब्याट्सम्यान धोनीले आफ्नो सुरुआती १३ बलमा मात्र १० रन प्रहार गरेका थिए । जबकि अर्का ब्याट्सम्यान फाप डु प्लेसिस ७२ रनमा खेलिरहेका थिए । भारतका पूर्वकप्तान धोनीले गत महिना मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । यद्यपि धोनीले अन्तिम ओभरमा भने लगातार ३ छक्का प्रहार गरेका थिए, जहाँ चेन्नईले राजस्थानलाई १६ रनको नतिजा सुम्पिएको थियो । ‘यसलाई कप्तानी इनिङ भन्न सुहाउँदैन किनभने तपाईं २ सय १७ रनको विशाल लक्ष्य पछ्याउँदै हुनुहुन्छ र कप्तान सातांै नम्बरमा मात्र ब्याटिङका लागि आउँछन् । खेल त्यहींबाट सकिएको थियो । फाप डु प्लेलिस आज चेन्नईका लागि एक्लो योद्धा रहे,’ भारतका पूर्वओपनर गौतम गम्भीरले भने, ‘अन्तिम ओभरमा उनले लगातार ३ छक्का प्रहार गरे, तर ती रन टोलीको जितका लागि पर्याप्त भएन । त्यसैले ती रन टोलीको जितका लागि भन्दा पनि उनको व्यक्तिगत रन रह्यो ।’ चेन्नईले शनिबार उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै आइपिएलमा सुखद सुरुआत गरेको थियो। करनले ६ बलमा १८ रन प्रहार गरे । धोनीलाई विश्वकै उत्कृष्ट फिनिसरका रूपमा लिइन्छ । धोनीले लामो समय मैदानबाहिर रहेकाले आफूले सातौं नम्बरमा ब्याटिङ गरेको बताएका छन् । ‘मैले लामो समयदेखि ब्याटिङ गरेको थिइनँ। युएई आएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्यो । त्यस कारण मेरो तयारी पनि पुगेन,’ अविजित २९ रन प्रहार गरेका धोनीले खेलपछि भने, ‘नयाँ प्रयोग पनि गर्न खोजिएको हो । सामका लागि अवसर पनि भयो। नयाँ प्रयोग गरे पनि सोचेअनुरूपको नतिजा आएन।आशा छ अर्र्को खेलमा सुखद नतिजा आउनेछ।’ ‘एमएस उत्कृष्ट फिनिसर हुन् र सधैं रहँदै आएका छन्,’ चेन्नईका प्रशिक्षक स्टेफन फ्लेमिङले भने । ‘धोनीले आगामी खेलका लागि खेलअघि अभ्यास गर्नुपर्छ खेलदौरान होइन,’ चेन्नईका एक आक्रोशित समर्थकले ट्विट गरेका छन् । गत वर्ष एकदिवसीय खेलमा पनि सुस्त खेलेको भन्दै ३९ वर्षे धोनीको ब्याटिङको आलोचना भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts