| | |

हेलिकप्टर दुर्घटनाः १४ वर्ष पूरा, संरक्षणकर्मीहरुको सम्झाना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ७ ।
ताप्लेजुङमा बुधबार संरक्षण दिवसमा हेलिकप्टर दुर्घटनामा परी मृत्युवरण गर्नुभएका विशिष्ट संरक्षणकर्मीहरुको सम्झाना गरिएको छ । आजभन्दा १४ वर्षअघि जिल्लाको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सास्थित फलेमा हेलिकप्टर दुर्घटना भई ज्यान गुमाउन पुगेका संरक्षणकर्मीसहित विशिष्ट व्यक्तित्वहरुको सम्झाना गरिएको हो ।
फुङ्लिङ नगरपालिका–४ भिन्तुनाडाँडामा रहेको संरक्षणकर्मीहरुको सालिकमा माल्यार्पण गरिएको छ । संरक्षण दिवसका दिन बुधबार बिहान वातावरण संरक्षण तथा विकास मञ्च (ईसीडीएफ) को समन्वयमा भिन्तुनाडाँडामा आयोजित कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलसहितका व्यक्तित्वहरुले मृतकहरुको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

भिन्तुनास्थित हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुको सालिकमा माल्यार्पण गरिँदै ।

सालिकमा माल्यार्पण गर्दै नगर प्रमुख, प्याकुरेल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रलाल राई, सामूदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझा लगायतले त्यसबेलाको घटनाले अहिले पनि पिरोल्ने गरेको र यस घटनालाई इतिहासले बिर्सन नसक्ने बताउनुभयो । उहाँहरुले हेलिकप्टर दुर्घटनामा हुन गएको अपुरणीय क्षति र संरक्षण तथा भूगोल शास्त्रका ज्ञाता नेपाल साथै नेपाल बाहिरका विशिष्ट व्यक्तित्वहरुको ज्यान जानेगरी भएको घटना अहिलेसम्म ताजा रहेको स्मरण गर्नुभयो ।
२०६३ साल असोज ७ गते साविक लेलेपको फले ढुङ्जे पहाडमा श्री एयरलाइन्सको बिमान (हेलिकप्टर) दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना विशिष्ट व्यक्तित्वहरुको मृत्यु भएको थियो । अन्य मृत्यु हुनेमा राज्यमन्त्रीकी धर्मपत्नी मीना राई, भूगोलशास्त्री तथा विश्व वन्यजन्तु कोषका सल्लाहकार डाक्टर हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा. चन्द्रप्रसाद गुरुङ, विश्व वन्यजन्तु कोष अमेरिकी पूर्वी हिमालय कार्यक्रमका प्रवन्ध निर्देशक मिङ्मानोर्वु शेर्पा हुनुहुन्थ्यो ।

यस्तै राष्ट्रिय निकुञ्ज तथा विश्व वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक एवं एशियाली गैंडा विशेषज्ञ समूहका उपाध्यक्ष डा. तीर्थमान मास्के, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत पौली मस्टोनेन, अमेरिकी सहयोग नियोग (युएसएड) का नायव निर्देशक मार्गरेट अलेक्जेण्ड, विश्व वन्यजन्तु कोष बेलायतका संयोजक जेनिफर हेट्ली लगायत देशका प्रशासनिक क्षेत्रका वरिष्ठ अधिकारी, कुटनीतिक नियोग, सञ्चारकर्मी र व्यवसायी समेतले ज्यान गुमाउनुपरेको थियो । हाल उक्त दुर्घटनाको सम्झाना स्वरुप असोज ७ गतेलाई संरक्षण दिवसको रुपमा मनाइँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts