कोरोना शुन्य संक्रमित जिल्ला ताप्लेजुङका संस्थागत क्वारेन्टिन पनि खाली

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । बुधवार(आज)बाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा रहेका संस्थागत क्वारेन्टिन पूरै खाली भएका छन् । भारतसहित तेस्रो मुलुकबाट फर्किएका र संक्रमित जिल्लाहरुबाट आएर क्वारेन्टिनमा रहेका ७ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएसंगै ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन रित्तै बनेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य एवम् जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले बुधवारबाट ताप्लेजुङका संस्थागत क्वारेन्टिन पूरै खाली भएको बताउनुभयो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले पछिल्लो समय क्वारेन्टिनमा राख्नुपर्ने अवस्थाका मानिसहरुलाई ताप्लेजुङ सदरमुकाममै क्वारेन्टिन केन्द्र व्यवस्थापन गरी पीसीआर रिर्पोट नेगेटिभ आएपछि मात्रै सम्वन्धित पालिका पठाउने गरेको थियो । फुङ्लिङ नगरपालिका तथा ८ वटा गाउँपालिका,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीकहाँ गरी २ सय ७२ शैयाको क्वारेन्टिन रहेकोमा बुधवारबाट संस्थागत क्वारेन्टिन खाली भएका छन् । सार्वजनिक यातायात तथा आन्तरिक हवाइ उडान समेत सुरु भएपछि अब समुदायका सदस्य आफ्नो टोल तथा समाज वरपरको निगारानी आफैंले गर्नुपर्ने गरी यसअघि नै कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सार्वजनिक आवहन गरिसकेको छ । कोरोना नियनत्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बाहिरबाट जिल्ला प्रबेश गरेकाहरुबाट आफु बच्न र समुदायलाई बचाउन जिल्ला बाहिरबाट क्षेत्रबाट आउने सबैलाई कम्तिमा १४ दिन होम आइसोलेसनमा राख्ने जिम्मेवारी अब प्रत्येक समुदायका सदस्यको भएको बताउनुभयो ।‘जिल्ला बाहिरबाट आउने प्रत्येकले अब १४ दिन होम आइसोलेसनमा बस्ने,अरुको सम्पर्कमा नजाने कार्यलाई आफैं कडाईका साथ पालना गर्न जरुरी छ’उहाँले भन्नुभयो । यसैबीच कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गत असोज ५ गते बिराटनगरको टिचिङ अस्पतालमा कोरोना संक्रमणकै बखत निधन भएकी ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ तिरिङ्गेकी ३७ बर्षे एक महिलालाई ताप्लेजुङमा संक्रमण नभएको प्रारम्भिक निश्कर्षमा पुगेको छ । दीर्घ रोगको उपचारका लागि भदौ १३ गते झापातर्फ जानु भएकी उहाँमा भदौ २८ गते गरिएको स्वाब संकलनको ३० गते प्राप्त रिर्पोटमा कोरोना पोजेटिभ देखिएको थियो । ताप्लेजुङबाट गएको १४ दिन पछिको परीक्षणमा मात्र उहाँमा कोरोना संक्रमण देखिएको,ताप्लेजुङमा रहिञ्जेल संक्रमित कसैसंगको सम्पर्कमा नपुगेको तथा झापासहितका बिभिन्न स्थानमा समेत परीक्षण तथा उपचार गराएकोले उहाँमा ताप्लेजुङ बाहेकका जिल्लाबाटै संक्रमण सरेको प्रारम्भिक निश्कर्ष निकालिएको छ । यद्यपी तिरिङ्गेमा रहेका उहाँका सन्तान सहितका ४ जनालाई होम आइसोलेसनमा राखिएको छ भने उहाँसंगै उपचारका लागि गएका ४ जनाको मोरङमै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । मृतक महिलालाई मोरङकै कानेपोखरीमा अन्त्येष्टी समेत गरिसकिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिनुभयो । संस्थागत क्वारेन्टिन केन्द्र समेत खाली भएको ताप्लेजुङमा गत साउन ४ गतेबाट कोरोना संक्रमित छैनन् । यसअघि बिदेशबाट फर्किएर पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएपनि ति सबै स्वास्थ्य लाभ पछि घर फर्कि सकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts