| |

ताप्लेजुङमा राष्ट्रिय युवा संघको एकता सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २ ।
ताप्लेजुङमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले पूर्णता पाएको छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार सपथग्रहण तथा प्रथम पूर्णबैठक सम्पन्न भएसँगै जिल्लामा राष्ट्रिय युवा संघको एकताको प्रक्रिया टुङ्गिएको हो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दीपेन पोमुले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउनुभएको हो । तत्कालीन नेकपा एमाले सम्वद्ध युवा संघ नेपालबाट ३४ र माओवादी केन्द्र सम्वद्ध वाईसीएल नेपालबाट २७ जना गरी ६१ सदस्यीय राष्ट्रिय युवा संघको जिल्ला कमिटी चयन भएको छ । सङ्घको जिल्ला कमिटी संयोजकमा तत्कालीन वाईसीएलका जिल्ला अध्यक्ष सुजन सामेखाम संयोजक र युवा संघका जिल्ला अध्यक्ष आसलाल केदेम ‘आशिष’ सहसंयोजकमा चयन हुनुभएको छ ।

सपथग्रहणसँगै पूर्णता पाएको राष्ट्रिय युवा संघको जिल्ला कमिटीलाई नेकपाका प्रदेश कमिटी सदस्य एवं जिल्ला अध्यक्ष विजयप्रकाश वनेम, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, प्रदेश कमिटी सदस्यद्वय खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य क्षितिज लिम्बू लगायतले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै नेकपाका जिल्ला कार्यालय सदस्यहरु मातृकाप्रसाद भट्टराई, सन्तोष खतिवडा, बिष्णुकुमार हाङ्बाङ, सुरज ओझा, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रजिन हाङ्बाङ लगायतले पनि कार्य सफलताको शुभकामना दिनुभएको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको लामो समय बितेपनि नेकपा सम्वद्ध भातृसंस्थाहरुको एकता प्रक्रिया चलिरहेको छ । अझै पार्टी निकट केही संस्थाहरुको जिल्लामा एकता प्रक्रिया टुंङ्गिन बाँकी नै रहेको बताइएको छ । भातृ संस्थाहरुको समयमै एकता नटुङ्गिदा अर्थात जिल्ला कमिटीले पूर्णता नपाउँदा ती संस्थाहरुमा आवद्ध कतिपय नेता तथा कार्यकर्तामा नैरास्यता छाउनुका साथै विचलित समेत भएका पाइएको छ । यता ढिलै भए पनि नेकपाको बलियो आधारको रुपमा रहेको राष्ट्रिय युवा संघ नेपालको सपथग्रहणसँगै जिल्ला कमिटीले पूर्णता पाएपछि पार्टीलाई बजबुत बनाउनमा पूर्ण सहयोग पुग्ने पार्टी नेतृत्वहरुले अपेक्षा राखेका छन् ।

शब्द तथा तस्बिरहरु : प्रयास लिम्बू
अरुलाई पनि शेयर गरौ !

Similar Posts