पहिरोबाट थुनिएको खोलाले बस्ती बगायो ः १४ को मृत्यु, एकै घरका ५ सहित ३९ बेपत्ता
बाग्लुङ,भदौ १९ । मध्यरातमा घर भूकम्पले हल्लाएझैं भयो । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटका निमबहादुर विक हतार–हतार उठे र बाहिर निस्किनुभयो । त्यतिन्जेल भुजीखोलाको बाढी घरभित्र पसिसकेको थियो । छोराछोरी च्यापेर सुरक्षित ठाउँ खोज्न निस्कँदानिस्कँदै घर गर्ल्यामगुर्लुम ढल्यो । भागाभाग गरेर उहाँ, श्रीमती, दुई छोरा र एक छोरीको ज्यान बच्यो । पालेका पशुपन्छी सबै बगे । हेर्दाहेर्दै उहाँको घरछेउको बस्ती नै बग्यो । विक परिवारले झरीमा रुझेर बुधबारको रात कटाउनुभयो । लाँकुरीबोट मात्र होइन, भट्टेचौर, सुपुर्दुङ र फलेघरलगायत बस्तीका निद्राबाट ब्युँझिन भ्याएका केहीले रोइकराइ गर्दै भागेर ज्यान बचाए । धेरैलाई बाढीले बगाएर लग्यो । स्थानीय ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतका अनुसार ढोरपाटन–सालझन्डी सडक खण्डको देउरालीबाट खसेको पहिरोले बुधबार साँझ नै भुजीखोला थुनिँदा तालजस्तो बनेको थियो । मध्यरात एक्कासि पहिरोको अवरोध भत्काउँदै खोलाले बाढीको रूप लियो र तटीय क्षेत्रका बस्तीमा पस्यो । भुजीखोला ढोरपाटन लेकको पूर्वी पानीढलो भए र बग्ने भुजीखोला–बुर्तिवाङ हुँदै आधा दर्जन खहरेसँगै बडीगाड खोलामा मिसिएको छ । लेकमा मुसलधारे वर्षा हुँदा भुजीखोलामा जलस्तर बढ्छ । ‘पहिरोले छेकेको खोला साँझ तालजस्तो बन्दै थियो । खोलाले मध्यरातमा ढुंगामाटोको अवरोध खोल्दा बाढी आएको हो,’ उहाँले भन्नुभयो, ‘सबै जना मस्त निद्रामा हुने बेला परेर ठूलो क्षति भयो ।’ ज्ञानोदयको कक्षा १० मा पढ्ने सुस्मिता विकका पाँच जनाको परिवारै बाढीमा बेपत्ता भएको उहाँले बताउनुभयो । बाढीले ढोरपाटन–७, ८ र ९ वडाका ४० घर बगाएको प्रारम्भिक तथ्यांक छ । बेपत्तामध्ये बिहीबार साँझसम्म १४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भएको छ । भेटिएका शवमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केसमाया विक र लाँकुरीबोटका ४५ वर्षीय करबहादुर विकको मात्रै सनाखत भएको छ । बस्तीदेखि १५ किलोमिटर तल खोलाको तीरमा पनि केही शव भेटिएका छन् । ‘क्षतविक्षत शव र केहीका हातखुट्टा मात्रै भेटिएकाले पहिचानमा समस्या भएको छ,’ प्रजिअ न्यौपानेले भन्नुभयो, ‘बेपत्ताको खोजी जारी छ ।’ स्थानीयका अनुसार उक्त क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती फलेघरभन्दा करिब ५ सय मिटरमाथि पहिरो खसेर भुजीखोलाको बहाव थुनिएको थियो । खोलाले एकैचोटि अवरोध खोलेर बाढीको रूप लिँदा झन्डै १० किलोमिटर तलसम्मको दुवै किनारका बस्तीमा क्षति पु¥याएको हो । बाढीले खेतीयोग्य जमिनको पनि ठूलो क्षेत्रफल बगाएको छ । मध्यरातको घटनाबारे आसपासका सुरक्षाकर्मीको युनिटले बिहीबार बिहान मात्र थाहा पाएका हुन् । खोलाले ढुंगामाटो ल्याएर पुरेका बस्तीको भग्नावशेषबाट इलाका प्रहरी कार्यालय बुर्तिवाङ, घोडाबाँधेस्थित नेपाली सेनाको अर्जुन वाँण गणको टोली र स्थानीयले पहिरो पन्छाएका हुन् । बेपत्ताको खोजी र उद्धारको काम जारी रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । बाढीपहिरोले ३ लघुविद्युत्, ३ पानीघट्ट, सुपुर्दुङ आधारभूत विद्यालयको एउटा भवन, खानेपानीका केही धारा तथा ट्यांकी र गाउँघर स्वास्थ्य क्लिनिकको भवनसमेत बगाएको छ । एउटा पिकअप भ्यान र दुईवटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ । (कान्तिपुरबाट)