|

सव-डिभिजन वन कार्यालय भवनको शिलान्यास

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ १८ ।
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा सव–डिभिजन वन कार्यालय साब्लाखुको भवन बन्ने भएको छ । सिदिङ्वा गाउँपालिका केन्द्र साब्लाखु भञ्ज्याङमा सव–डिभिजन कार्यालयको भवन बन्ने भएको हो ।
उक्त कार्यालय भवनको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया, उपाध्यक्ष जीवनकुमार ताम्लिङ र डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । बुधबार शिलान्यास गरिएको सव–डिभिजन वन कार्यालय भवन दुई तलाको पाँच कोठे बन्ने डिभिजनल वन अधिकृत शाहले जानकारी दिनुभयो ।
यता कार्यालय भवन निर्माणको जिम्मा भने दुर्विच निर्माण सेवाले पाएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । डिभिजनल वन अधिकृत शाहका अनुसार एक करोड एक लाख ५३ हजार ५९४ रुपियाँको बोलपत्र (ठेक्का) आह्वान गरिएकोमा दुर्विच निर्माण सेवाले ६१ लाख ७८ हजार २९१ रुपियाँमा ठेक्का पारेको हो । दुर्विच निर्माण सेवाले लगाएको बोलपत्र स्वीकृत गरी बोलपत्र कबोल रकम बराबरमा काम सक्नेगरी २०७७ असार २९ गते डिभिजन वन कार्यालय र निर्माण सेवाबीच सम्झौता भएको छ । सम्झौताअनुसार भवन निर्माणको कार्य २०७८ साल जेठ १६ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।
उक्त कार्यालय भवन निर्माणका लागि साब्लाखु भञ्ज्याङ बजारका स्थानीय रामबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । सोही जग्गामा क्रमागत योजनाअन्तर्गतको बजेटले सव–डिभिजन वन कार्यालयको भवन निर्माण कार्य सुरु गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी सहायक वन अधिकृत चन्द्रलाल राईले जानकारी दिनुभयो ।

भवन शिलान्यासका क्रममा लिइएका तस्बिरहरु ।
अरुलाई पनि शेयर गरौ !

Similar Posts