|

समुदायमा कोरोना फैलन नदिन ताप्लेजुङमा चालियो बिशेष कदम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । कोरोना संक्रमण समुदायमा फैलन नदिन कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले प्रबेश नाकाहरुका जाँच केन्द्रलाई थप क्रियाशिल र प्रभावकारी बनाउने भएको छ । पीसीआर रिर्पोट नेगेटिभ आएको नतिजा प्रतिबेदनसहित आउनेलाई कम्तिमा दुईसाता होम क्वारेन्टिनमा रहने सर्तमा जिल्ला प्रबेशको अनुमति दिईने छ । भारतसहित तेस्रो मुलुकबाट आउने नागरिकलाई नेगेटिभ पीसीआर रिर्पोट नभएको अवस्थामा काबेलीबाट सिधै फुङ्लिङस्थित क्वारेन्टिन केन्द्रमा राखिने निर्णय भई कार्यान्वनयन भईरहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो । ताप्लेजुङ प्रबेश नाका काबेली र मैवाखोलाको तिनजुरे क्षेत्र लगायतका नाकाहरुबाट हुने आवतजावतमा कडाई गरिएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य एवम् जिल्ला प्रहरी प्रमुख (डिएसपी)महेन्द्रकुमार श्रेष्ठले काबेलीमा रहेको हेल्थ डेस्क अघिबाटै यात्रुहरु उत्रिएर केहि स्थानको पदमार्गमार्फत बाहिरिन सक्ने अवस्थालाई पनि मंगलवार अपरान्हबाट निगारानी राख्न सुरु गरिएको जानकारी दिनुभयो । यस्तो कार्य नियन्त्रण गर्न पाँचथरको काबेलीमा रहेको प्रहरी चौकीसंग सहायता मागिएको श्रेष्ठले जानकारी दिनुभयो । काबेली पाँचथर र ताप्लेजुङको सीमा क्षेत्र हो । काबेली खोलाको वारिपट्टि ताप्लेजुङ प्रबेशस्थलमा सुरक्षाकर्मीसहितको हेल्थ डेस्क रहेको छ । यो हेल्थ डेस्कलाई छलेर अघि बढ्न खोज्ने केहि मानिसहरु पाँचथरतर्फकै सीमा क्षेत्रमा ओर्लिएर काबेली खोलामा रहेको झोर्लुङ्गे पुलमार्फत ताप्लेजुङ प्रबेश गर्न खोजे अब त्यसको निगारानी काबेलीमा रहेको प्रहरी चौकीले गर्ने भएको छ ।‘घाँस दाउरा गरेर ओहोर–दोहोर गर्ने बाहेक अन्यका हकमा काबेलीमा रहेको प्रहरी चौकीले पूर्ण निगारानी गर्ने छ’डिएसपी श्रेष्ठले भन्नुभयो । अहिले सम्म ताप्लेजुङमा समुदायस्तरमा कोरोना फैलिएको छैन । बैदेशिक रोजगारीबाट फर्किएका यहाँका ८ जनामा कोरोना संक्रमण देखा परेपनि ति सबै स्वास्थ्य लाभ गरेर घर गई सकेका छन् । झण्डै १० दिन देखि ताप्लेजुङ कोरोना संक्रमिति बिहिन जिल्ला भएको छ । शंकास्पद केहि बिरामी र स्वास्थ्य तथा सुरक्षाकर्मी सहित पछिल्लो समय पठाईएको १४ जनाको स्वाब परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ । भारतसहित तेस्रो मुलुकबाट जिल्ला भित्रने नागरिकलाई पीसीआर रिर्पोट नेगेटिभ आएको अवस्थामा मात्र घर पठाउने तथा संक्रमित जिल्लाबाट प्रबेशमा कडाई गर्ने हो भने समुदायस्तरमा कोरोना संक्रमण नफैलिने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बुझाई छ ।‘संक्रमित जिल्लाबाट आउनमा कडाई गर्छौ,अत्यावश्यक कामका लागि हुने आउजाउमा समेत पालिका र वडालाई जिम्मेवार बनाएर आउजाउ गरेका माथि समेत निगारानी बढाउँछौं’समुदायस्तरका कोरोना फैलन नदिन चालिने कदम बारे प्रजिअ झरेन्द्रप्रसाद चापागाँईले भन्नुभयो । उहाँले यस कार्यमा साथ दिन आम नागरिकलाई आवहन समेत गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts