|

ताप्लेजुङ प्रबेशमा थप कडाई,मालवाहक सवारीमा २ जना मात्र रहन पाउने,एम्बुलेन्स माथि निगारानी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १५ । अन्तर जिल्लाबाट ताप्लेजुङ भित्रने मालबाहक सवारी साधनमा अब चालक र सहचालक गरी २ जना मात्रलाई काबेलीबाट प्रबेश अनुमति दिइने भएको छ । उपचार पछि एम्बुलेन्समा फर्किएको हकमा अस्पतालले लिएको असली डिस्चार्ज पूर्जी भए÷नभएको यकिन गरी बिरामीका साथमा अवस्था हेरी बिरामी र बढीमा २ जना कुरुवालाई मात्र प्रबेश अनुमति दिइने प्रावधान सुरु गरिएको छ । अत्यावश्यक सेवाका नाममा मानिसहरु जिल्ला भित्रन थालेको आशंकामा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति यस्तो निश्कर्षमा पुगेको हो ।‘बिरामी निको भएर एम्बुलेन्समा फर्किएको अवस्थामा पनि सम्वन्धित पालिका वा वडा प्रतिनिधिमार्फत यकिन गरेर मात्र प्रबेश अनुमति दिने निश्कर्षमा पुगेका छौं’कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले भन्नुभयो । उहाँले अत्यावश्यक सेवाको बहानामा केहि थान मास्क र स्यानीटाइजर बोकेर जिल्ला भित्रन खोज्नेहरुको सुइँको पाए उनीहरुलाई नियन्त्रण लिई क्वारेन्टिनमा राखेर १५ दिन पछि फेरी जुन ठाउँबाट आएको हो,त्यहिँ फर्काउने प्रशासनको तयारी सुनाउनुभयो । मेडिकल तथा स्वास्थ्य संस्थामा रकम उठाउन र सामग्रीको माग लिन समेत आउने गरेको सूचना पाएपछि प्रशासनले काबेलीमा रहेको हेल्थ डेस्कमा रहेका सुरक्षाकर्मीलाई थप कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले तरकारी,खाद्यान्न, औषधि,पेट्रोलियम पदार्थसहितका अत्यावश्यक दैनिक उपभोग्य बस्तु आयात गर्ने सवारीमा समेत लुकिछिपी मानिस आउने आशंकामा प्रबेश नाका काबेलीमा सुरक्षा जाँचमा कडाई गरिएको जानकारी दिनुभयो । एकाघरका सदस्य दिवंगत भई किरिया बस्न जाने तथा काजकिरिया सकेर फर्कनको हकमा पनि सम्वन्धित पालिका वा वडाका जनप्रतिनिधिको सिफारिसका आधारमा मात्र प्रबेश अनुमति प्रदान गरिने गरी कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिबाट निर्देशन आएको श्रेष्ठले बताउनुभयो । फर्जी कागजात बनाएर बिरामी नभएका यात्रु ओसारे अब एम्बुलेन्सलाई जिल्ला एम्बुलेन्स सञ्चालक समितिले हदै सम्मको कारवाही गर्ने तयारी समेत भएको छ ।
अब भाडा दर अनिवार्य सवारीमा टाँस गर्नुपर्ने
आन्तरिक(जिल्ला भित्रै) यातायात सेवा सञ्चालन भई रहेका सवारीले अब अनिवार्य रुपमा सवारीको अगाडिपट्टी सबैले देख्ने गरी तोकिएको भाडादर टाँस गर्नुपर्ने भएको छ । निर्धारित भाडादर भन्दा बढी भाडा लिएको जनगुनासो आउन थालेपछि ट्राफिक प्रहरीसंग मिलेर स्थानीय प्रशासनले सुक्ष्म अनुसन्धान थालेको छ । यस क्रममा छड्के जाँच गर्ने,बढी भाडा लिएको पाइए निर्धारित भाडादर भन्दा बढी लिएको भाडादर ठाउँको ठाउँ फिर्ता गरी सवारी र चालकलाई नियन्त्रणमा लिने सम्मको एक्सनको प्रारुप स्थानीय प्रशासनले तयार गरेको जनाएको छ । भौतिक दुरी कायम गरी सिट संख्याभन्दा आधा मात्र यात्रु राखेको र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाईएको सवारीका खण्डमा साविक भाडादरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्थालाई अपब्याख्या गरिए प्रचलित कानुन अनुसार कारवाही गर्ने प्रजिअ चापागाँईले बताउनुभयो । उहाँले यसको अनुगमनका लागि गाउँ–गाउँमा रहेका प्रहरी युनिटहरुलाई परिचालित गरिसकिएको पनि जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts