|

रिटर्नी माइग्रेटको जिल्ला समिति गठन

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ १२ ।
ताप्लेजुङमा वैदेशिक रोजगारमा गएर स्वदेश फर्कनेहरुको संस्था रिटर्नी माइग्रेट नेपालको जिल्ला तदर्थ समिति गठन भएको छ । जिल्ला युवा समितिका अध्यक्ष सन्तोष प्रसाईंको उपस्थितिमा शुक्रबार सदरमुकाम फुङ्लिङमा भएको भेलाले गोपाल भण्डारीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा दावाछिरिङ शेर्पा, सचिवमा सरोजकुमार सुनुवार, सहसचिवमा विवस प्रसाईं र कोषाध्यक्षमा फुर्वा शेर्पा रहनुभएको छ । सदस्यमा भने सुमित्रा प्रसाईं र भगिमाया लिम्बू रहनुभएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश गएर फर्किएकाहरुले स्वदेशमा पनि रोजगारी सिर्जना गर्न तथा स्वरोजगार बन्ने खालका योजना बनाउनमा पहल गर्नेगरी संस्था दर्ता भएको बताइएको छ ।
यता ताप्लेजुङमा भने शुक्रबारको भेलाले तदर्थ समिति गठन गरेसँगै अब जिल्लामा संस्था आवद्धता वा दर्ताको प्रक्रिया अघि बढाइने नवगठित समितिका अध्यक्ष भण्डारीले बताउनुभयो । अब जिल्लास्तरमै आधिकारिक रुपमा संस्था दर्ता गरेर वैदेशिक रोजगारीमा गएर फर्केकाहरुको लागि यहीँ रोजगारी सिर्जना गर्ने खालको योजना बनाउने कार्यका लागि संस्थाले पहल गर्ने भण्डारीले बताउनुभयो । उहाँले नेपाल सरकारसँग संस्थाको केन्द्रीय समितिले गरेको समझदारीअनुसार बैंक तथा वित्तीय संस्थासँग सहुल्यत ऋण लिएर पेशा व्यवसाय अँगालेर स्वरोजगार बन्ने योजनाका निम्ति पहल गरिने पनि बताउनुभयो ।
उहाँले संस्थाको नियमअनुसार विदेश गएर फर्केकाहरुले साधारण सदस्य तथा आजीवन सदस्य बन्न पाउने पनि बताउनुभयो । त्यसो त पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण धेरै नेपाली जनशक्ति वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्केका छन् । स्वदेश फर्केका नेपाली जनशक्तिले यहीँ रोजगारीको व्यवस्था मिलाई दिन सरकारसँग माग पनि गर्दै आइरहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts