विकासमा प्रतिश्पर्धा गर्न स्थानीय तहलाई प्रदेश सांसदहरुको साझा सुझाव
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । ताप्लेजुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले विकासमा प्रतिश्पर्धा गर्न स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुलाई सुझाव दिनु भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङले आयोजना गरेको बार्षिक विकास कार्यक्रम समिक्षा उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसदहरुले प्रतिश्पर्धात्मक विकास प्रकृयाले सामाजिक उत्थानमा योगदान पुग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङले विकास र समृद्धिका लागि एक स्थानीय तहको राम्रा पक्षलाई अर्को स्थानीय तहले उपयोग गर्न सक्नुपर्ने टिप्पणी गर्नुभयो । अनुत्पादक क्षेत्रमा गरिएको लगानीले प्रतिफल पनि नदिने र रोजगारी पनि सृजना पनि हुन नसक्ने भएकोले कार्यक्रम तयार पार्दा यसलाई मुख्य रुपले ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । रोगजारी सृजना गर्ने,समुदायका सदस्य आत्मनिर्भर बन्ने र आर्थिक रुपले आफैं सवल बन्ने खालका योजना र कार्यक्रम अघि सारेर गाउँको समृद्धिमा स्थानीय सरकारले महत्वपूर्ण योगदान दिन सक्ने उहाँको भनाई थियो । ‘अर्गानिक सांसद’को उपाधि पाउनु भएका प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गामले स्थानीय तह बीचको अबको प्रतिश्पर्धा विकास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।‘अब नेकपाबाट जितेकोले राम्रो काम गर्छ की,काँग्रेसले वा जनता समाजवादी वा अन्य कुनै दल’तपाँईहरुले पार्टीको छबि उचाल्न पनि विकासमा प्रतिश्पर्धा गनुहोस्’स्थानीय तहका प्रमुख÷अध्यक्ष÷उपप्रमुख÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई उहाँको सुझाव थियो । हाङ्गामले उपकरण नभई निर्माण कार्य सञ्चालन हुनै नसक्ने प्राविधिक प्रतिबेदन बाहेकको अवस्थामा श्रमिकहरुकै उपयोगितामा पूर्वाधारका काम अघि बढाउने गरी ऐन÷नियम शंसोधनको आवश्यकता औंल्याउनु भएको छ । स्काईभेटर सहितका निर्माण उपकरणको प्रयोगले बजेटको ठूलो हिस्सा नेपाल बाहिरै जाने भएकोले आफ्नै गाउँमा रोजगार उत्पादन हुने गरी कार्य गर्न स्थानीय तहलाई उहाँले सुझाब दिनुभयो । भन्नुभयो ‘अब बैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीपलाई आत्म सम्मानपूर्वक आफ्नै गाउँ–ठाउँमा प्रयोग हुने वातावरण निर्माण गर्न जरुरी छ’ । सीप लिएर बिदेशबाट फर्किएकाहरुले पनि बिदेशमा गएर गरेको दुःख हिसावकिताव आफ्नै गाउँठाउँबाट पाईने गरी पसिना बगाउन र नधकाउन सांसद हाङ्गामले आग्रह गर्नुभयो । प्रदेशसभाका सांसद होमकुमारी साँवाले ताप्लेजुङको विकास र समृद्धिको अभियानमा प्रदेश र संघीय सांसदहरु एक ठाउँमा रहदैं आएको चर्चा गर्नुभयो । उहाँले भौगोलिक अवस्थिति सहितलाई आधार मानेर विकास निर्माण अभियानका स्वरुपलाई परिवर्तन गर्न आवश्यक परे ऐन÷नियम नै परिवर्तन समेत गर्नुपर्नेमा जोड दिनुभयो । नीति तथा कार्यक्रमको तयारी,आर्थिक बर्ष अन्त्यको चटारो सहितका कारणले गत आर्थिक बर्षको समिक्षा भदौ महिनामा आएर गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले बिगतका बर्षहरुको समिक्षा कार्यक्रममा स्थानीय तहबाट आएको सुझाव समेतलाई मध्यनजर गरी नयाँ आर्थिक बर्ष सुरु भईसकेपछि मात्र अघिल्लो आवको सकिक्षा गरिएको जानकारी दिनुभयो । स्थानीय तहले त्यहिँ आर्थिक बर्षको अन्त्यतिर समिक्षा गर्दा आफ्नो पालिका भित्रको भौतिक तथा बित्तीय प्रगतिको अवस्था आउन नसक्ने बताएपछि समिक्षा कार्यक्रमको मोडल यसबर्ष परिवर्तन गरिएको बताउनुभयो । कोरोना सन्त्रासका कारण देखिएको समस्या लगायतका कारण समिक्षा कार्यक्रम भदौ दोस्रो सातामा गर्न सकिएको उहाँको भनाई रहेको छ । जिल्ला समन्वय अधिकारी उपेन्द्रबहादुर ढुङ्गानाले आफ्ना पालिकामा नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा सुधार गर्नुपर्ने वा स्वरुप परिवर्तन गर्नुपर्ने अवस्था समेतका लागि समिक्षा कार्यक्रम फलदायी हुने बिश्वास लिनुभयो । उहाँले एक स्थानीय तहका असल र प्रभावकारी कार्य सम्पादनलाई अर्को तहमा समेत उपयोग गर्न सकिने गरी समिक्षा कार्यक्रम अघि बढाईएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जनताको प्रत्यक्ष र आधारभूत सरकार भनेको स्थानीय तह भएको स्मरण गर्दै जनताका आवश्यकता पूरा गर्न स्थानीय तहसंग प्रशासनिक निकाय समन्वयका लागि तयार रहेको बताउनुभयो । बिहीबार र शुक्रवार गरी २ दिन सम्म चल्ने समिक्षा कार्यक्रमको पहिलो दिन बिषयगत सरकारी कार्यालय तथा गैर सरकारी र अन्तर सरकारी निकायको प्रस्तुती रहने छ । जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारीका अनुसार शुक्रवार यहाँका एक नगरपालिकासहित ९ स्थानीय तहले शुक्रवार प्रस्तुती राखी समिक्षा सहित सोहि दिन कार्यक्रम समापन गरिने छ ।
फोटो ः बार्षिक समिक्षा कार्यक्रममा सहभागी । तस्बिर ः खगेन्द्र । उज्यालो पोष्ट