| |

बुङ्कुलुङमा होमस्टे सञ्चालनको तयारी

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ ११ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङ गाउँमा होमस्टे (घरबास) सञ्चालनको तयारी गरिएको छ । पर्यटकीय क्षेत्र सुकेटारसँगै जोडिएको बस्ती बुङ्कुलुङमा सामूदायिक होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।
भोटेगाउँको नाउले समेत चिनिने बुङ्कुलुङ बस्ती सदरमुकाम फुङ्लिङ बजारदेखि पनि नजिकै पर्दछ । फुङ्लिङ बजारदेखि आधा घण्टाजति सवारी साधनको यात्रा र करिव सवा एक घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुङ्कुलुङ पर्यटकीय दृष्टिकोणले रमणीय र सुन्दर तथा आकर्षक गाउँ पनि हो । शेर्पा समूदायको मात्र बसोबास रहेको सो गाउँका छ जना मिलेर क्रियटिभ ब्रदर्स प्रालि नामक संस्था दर्ता गरेर होमस्टे सञ्चालनको तयारी थालेका हुन् ।
संस्थाका प्रोपाइटर पासाङरिता शेर्पाका अनुसार आउँदो असोज महिनाभित्रै सामूदायिक होमस्टे सञ्चालन गर्ने तयारीका साथ हाल आवश्यक कामहरु भइरहेको छ । संस्थामार्फत सञ्चालन हुने भए पनि होमस्टे छुट्टै दर्ता गर्नुपर्ने प्रावधान रहेकाले सोअनुसार प्रक्रिया सुरु गरिएको शेर्पाले बताउनुभयो । सुरुमा १० देखि १२ वटा घरमा होमस्टे सेवा सञ्चालन गर्नेगरी दर्ताको प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने योजनाका साथ घरको बासबाहेक छुट्टै कटेज तथा पाहुना घरहरु निर्माण गर्दै आएको उहाँले बताउनुभयो । संस्थाले पेश गरेको परियोजना प्रस्तावना स्वीकृत भई गएको आर्थिक वर्षमा प्रदेश १ सरकारले उपलब्ध गराएको १४ लाख रुपियाँ अनुदान रकमले सात वटा कजेट, एउटा पाहुना घर र भान्साघर लगायतका संरचना निर्माण गरेको शेर्पाले बताउनुभयो ।
पर्यटन प्रवद्र्धनअन्तर्गत कृषि पर्यटन योजनाका लागि संस्थाको ५० प्रतिशत साझेदारी रहनेगरी प्रदेश सरकारले उक्त अनुदान रकम उपलब्ध गराएको शेर्पाले जानकारी दिनुभयो । नमुना सामूदायिक होमस्टे सञ्चालन गर्ने योजना बनाइएकाले सोहीअनुसार संरचनाहरु आकर्षक बनाउन कटेज तथा पाहुना घरहरु बारबेरादेखि छाना छाउनमा समेत परेङ बाँसको प्रयोग गरिएको उहाँले बताउनुभयो । तीनै संरचना निर्माण गर्न र संस्थामा आवद्धसमेत ३० परिवारमा आलु, बन्दाकोभी, सिस्नु खेती, लोकल कुखुरा पालन लगायतमा प्रदेश सरकारको अनुदान रकम खर्च गरिएको उहाँको भनाइ छ ।
संस्थाका अर्का सदस्य निमाक्रिक्या शेर्पाले होमस्टे छिट्टै सञ्चालनमा ल्याउने योजना बनाएको भए पनि कोभिड–१९ को महामारीका कारण सम्भव नभएको बताउनुभयो । महामारी कायमै रहेपनि आगामी असोज अन्तिमदेखि सामूदायिक होमस्टे सञ्चालनमा ल्याउने योजना रहेको शेर्पाले बताउनुभयो । उहाँका अनुसार होमस्टेको विशेषताअनुसार कोदो, जौ, उवा, पात्ले सिस्नु, आलुसहित अर्गानिक स्थानीय उत्पादनका परिकारलाई मुख्य प्राथमिकता दिइने छ । त्यस्तै पाहुनाहरुको मागअनुसार अन्य परिकार तथा आवश्यक सुविधा पनि उपलब्ध गराउने योजना रहेको उहाँले सुनाउनुभयो ।

होमस्टेका लागि परेङ बाँसको प्रयोगबाट बनाइएका संरचनाहरु । तस्बिरहरु: प्रयास ।
अरुलाई पनि शेयर गरौ !

Similar Posts